रोजगार रणनीति निर्माणका लागि रोजगार संवाद मञ्च कार्यक्रम, भए यस्ता निर्णय
२६ वैशाख २०८२ । भुमा मगर, बरेङ । रोजगार रणनीति निर्माणका लागि रोजगार संवाद मञ्च कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङ जिल्लाको बरेङ गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा स्थानिय तहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले सोमबार गाउँपालिकाको सभाहलमा छलफल तथा अन्तरक्रिया गर्दै रोजगार संवाद मञ्च कार्यक्रम सम्पन्न भएको हो ।
बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न छलफल तथा अन्तरक्रियामा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, शिक्षक,कृषक, निर्माण व्यवसायी, प्रहरी पत्रकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा,रोजगार संयोजक केशवराज क्षेत्री र सव इन्जिनियर कमल आचार्यले जवाफ दिनुभएको थियो ।
गाउँपालिकाका रोजगार संयोजक केशवराज क्षेत्रीले रोजगार सेवा केन्द्रबाट सञ्चालित र सम्पन्न भएका कार्यक्रम रोजगारको अवस्थाको बारेमा समेत प्रस्तुतीकरण गर्नुभएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग विकको स्वागत र गाउँपालिकाका सब इन्जिनियर कमल आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
सहभागीबाट प्राप्त सुझावलाई रोजगार रणनीतिमा समावेश गर्दै आगामी कार्यपालिकामार्फत निर्णय गरी गाउँसभाबाट नीति कार्यक्रममा समावेश गर्ने प्रतिबद्धतासहित तपसिलका निर्णय भएका छन् ः
१. सुचिकृत बेरोजगारहरुलाई विभिन्न सिपमुलक तालिम दिई स्वरोजगार बनाउन प्रेरित गर्ने,
२.निर्माण व्यवसायीसंग समन्वय गरी रोजगारी सिर्जना गर्ने,
३.वित्तीय साक्षरता सूचना प्रवाहलाई विपन्न नागरिक समक्ष पुर्याउने,
४.निशुल्क र उचित बाँझो जग्गा लिजमा लिई उत्पादनमा जोड्दै रोजगार सिर्जना गर्ने,
५.गाउँपालिकाका विभिन्न वनमा पाइने जडिबुटिको संकलन,प्रशोधनका लागि वनसङ्ग साझेदारी गरी रोजगार सिर्जना गर्ने र बजारीकरण गरी राजश्व वृद्धि गर्ने
६.धार्मिक र पर्यटकिय स्थललाई व्यवस्थित गरी पर्यटक भित्र्याउने र राजस्व वृद्धि गर्ने साथै रोजगार सिर्जना गर्ने
७.रोजगारीको हकको कार्यान्वयनका लागी योजना छनोट र अनुगमनलाई प्राथमिकता दिने,
८. वैदेशिक रोजगारबाट फर्किएका सीप प्राप्त गरेका व्यक्तिहरूका लागि पुनःएकीकरणको कार्यक्रम संचालन गर्ने ।