प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बरेङमा मोटरेबल कल्भर्ट
२०८२ असार २४ । भुमा मगर बरेङ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत मोटरेबल कल्भर्ट बनेको छ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरको लागत साझेदारीमा सूचीकृत बेरोजगारले वडाको खाल्लेखोलामा मोटरेबल कल्भर्ट बनाएका छन् ।
आर्थिक वर्ष २०८१–०८२ को नेपाल सरकार सशर्त अनुदानबाट प्राप्त ज्याला रकम मध्ये ३ लाख ७५ हजार सूचीकृत अदक्ष कामदारको लागि र वडाको साझेदारी रकमबाट ७५ हजार बराबरको दक्ष कामदारको ज्यालामा खर्च भएको छ भने निर्माण सामग्री, खरिद तथा ढुवानीका लागि १० लाख ५० हजार गरी कुल १५ लाख २५ हजारमा ५.५ मिटर लम्बाइ र ५.२ मिटर चौडाइको मोटरेबल कल्भर्ट बनेको हो ।
वर्खायाममा पैदलयात्री र सवारीसाधनका लागि खोला पार गर्न कठिन भईरहेकाले स्थानीयको मागका आधारमा वडाले रोजगार सेवा केन्द्रमार्फत काम गर्ने योजना बनाई सम्पन्न समेत भएको छ । मोटरेबल कल्भर्ट बनेपछि स्थानीयहरू खुसी व्यक्त गर्दै नसोचेको काम गरिदिनुभएको भन्दै रोजगार शाखाका कर्मचारी र वडालाई विशेष धन्यवाद दिएका छन् ।
काम भएको छैन बालुवामा पानी भएको छ भन्ने भ्रम हालसम्म पनि केही मिडिया र जनमानसमा भईरहेको सन्दर्भमा बरेङ गाउँपालिकाले भने सुरुवातका वर्षहरूबाट नै पूर्वाधार निर्माणका काममा राम्रो सफलता हासिल गरेको छ । वडाहरूले निर्माण सामाग्री र दक्ष कामदारका लागि रकम छुट्टाएपछि रोजगार सेवा केन्द्रलाई पनि काम गर्न र कामको गुणस्तर देखाउनका लागि सहज भएको सव इन्जिनियर कमल आचार्यले बताउनुभयो ।
चालु आर्थिक वर्षमा बरेङ रोजगार सेवा केन्द्ले २ सय २२ मिटर पक्की सिँचाइ कुलो, ५ सय ७० मिटर पक्की पदमार्ग, मोटरबाटो ढलान ३७ मिटर, पक्की नाली १ सय ३० मिटर, मोटरबाटो कजवे २४ मिटर, प्रतिक्षालय, शौचालय, मोटरेबल कल्भर्ट, कल्भर्ट, मन्दिर, आमा प्रतिक्षा घर लगायतका १६ वटा योजना समयमै सम्पन्न गरी श्रमिकको आआफ्नै खातामा रकम भुक्तानी गरेको छ । त्यस्तै पाथवे नेपाल प्रालि इटहरीको प्राविधिक सहयोगमा ४० जनालाई मेसन सम्बन्धी सिप विकास तालिम दिएको छ । रोजगार सेवा केन्द्रले वैदेशिक रोजगार बोर्डको आर्थिक सहायता, कन्सुलर सेवा, विभिन्न देशको श्रम स्वीकृतमा पनि सहजीकरण गरिरहेको रोजगार संयोजक क्षेत्रीले बताउनुभयो ।
रोजगार सेवा केन्द्रबाट सम्पादित कामको आधारमा यसै आर्थिक वर्षमा गत ३ वर्षको अवधिलाई मूल्याङ्कन गर्दा बरेङ गाउँपालिका गण्डकी प्रदेशमा प्रथम भई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सम्मानित समेत भएको थियो ।
« बरेङको आगामी आर्थिक बर्षको निति कार्यक्रम तथा बजेट सर्वसम्मतिले पास «
» बागलुङबाट बरेङ आउँदै गरेको पिकअप जिप नाम्दुकमा दुर्घटना, ६ जना घाइते »