सिफारिस बिना निर्माण कार्य अघि बढाइएकोमा ढोरपाटन नगरपालिका–७ का वडा अध्यक्षद्धारा विज्ञप्ति
बुर्तिबाङ । ढोरपाटन नगरपालिका वडा नम्बर ७ बागलुङका वडा अध्यक्ष दिपक थापाले कानुनी प्रावधान मिचेर कुनै पनि निर्माण कार्य गर्न नहुने भन्दै आइतबार एक विज्ञप्ति जारी गरेका छन् । नेपाल सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत बागलुङ जिल्ला प्रतिनिधी सभा क्षेत्र नं ३ को आ.व २०७५÷७६ को कार्यक्रमबाट ढोरपाटन नगपरपालिका नगर कार्यपालिकाको कार्यालयबाट प्रचलित कानुन बमोजिमका प्रक्रियाहरु र वडा समितिको अधिकार समेत मिचि योजना सम्झौता भएपछि उत्पन्न समस्याको विषयमा वडा समितिको धारण स्पष्ट पार्न खोजिएको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत ढोरपाटन नगरपालिका वडा नं ७ मा शिव मन्दिर निर्माणका लागि विनियोजित १० लाख रकमबाट योजनाको कार्य सञ्चालनको लागि वडा समितिले उपभोक्ता समितिको गठन गराई योजना सम्झौताको लागि नगर कार्यपालिकाको कार्यालय समक्ष सिफारिस गर्नुपर्ने व्यवस्था थियो तर नगर प्रमुख आबद्ध राजनीतिक दलका केही कार्यकर्ताहरुको सक्रियतामा वडा समितिको कुनै जानकारी बिना नै अनाधिकृत प्रकारले उपभोक्ता समितिसंग वडा कार्यालयको सिफारिस बिना नै योजना सम्झौता गराउन तोक आदेश भई सोही आदेश अनुसार मिति २०७६ बैशाख १० मा उक्त योजनाको सम्झौता भई पेश्की रकम समेत निकाशा गरिएकोमा थापाको आपत्ति भएको विज्ञप्तिमा उल्लेखनीय रहेको छ ।
त्यसरी कानुनी प्रावधान मिचेर गरिएको उक्त शिव मन्दिर निर्माण योजनाको सम्झौता रद्ध गर्न अपिल गर्दै थापाले नगरपालिकको नेतृत्वबाट कानूनी व्यवस्था र वडा समितिको क्षेत्राधिकारलाई मिचेर त्यसरी अनियन्त्रित प्रकारले भएको कार्य विरुद्ध आवाज बुलन्द गर्न समेत सम्पूर्ण वडाबासी जनसमुदाय, राजनीतिक दल, बौद्धिक वर्ग ,नागरिक समाज, सञ्चार जगत लगायत जनसमुदायमा हार्दिक अपिल विज्ञप्तिमा गरेका छन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि नियमावली २०७५ पनि जारी छ उक्त नियमावलीको नियम २ को सो कार्यक्रमअन्र्तगत उपभोक्ता समिति गठन सम्बन्धि प्रचलित कानुन बमोजिम कानुनी व्यवस्थालाई नै बुझनुपर्ने उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ ले समेत आफ्नो वडामा सञ्चालन हुने योजनाहरुको उपभोक्ता समिति गठनको जिम्मेवारी वडा समितिलाई दिइएको कानुनी व्यवस्था रहेको अध्यक्ष थापाले विज्ञप्तिमा जानकारी गराएका छन् ।