इमान्दारीका साथ सामाजिक कार्यमा लागेकी महिला स्वयम्सेविकालाई बिदाइ
केशबराज क्षेत्री, बरेङ । २६ जेठ २०७६ । बागलङको बरेङ गाउँपालिका १ धुल्लुबास्कोट स्वास्थ्य चौकीमा कार्यरत एक महिला स्वयम् सेविकालाई बिदाई गरिएको छ ।
२४ वर्ष सम्म कुनै लोभलालचमा नलागी निरन्तर सामाजिक सेवामा कार्यरत स्वयम्सेविका धनमाया पुनलाई आइतबार धुल्लुबास्कोट स्वास्थ्य चौकीको कार्यालयमा एक कार्यक्रमकाबीच सम्मानका साथ बिदाइ गरिएको हो । पुन हाल बसाइसाराइँका कारण अन्यत्र जानुपरेकोले हालसम्मको कामको कदर गर्दै उच्चसम्मानका साथ बिदाइ गरिएको स्वास्थ्य चौकीका पुर्व इन्चार्ज पदमबहादुर पुनले जानकारी दिए ।
बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा र बरेङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष नरसिंह पुनले महिला स्वयम्सेविका धनमायालाई फुल, अबिर र सम्मानपत्रले सम्मान गरेर बिदाइ गरेका थिए । कार्यक्रममा वडामा कार्यरत अन्य महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी एवम् स्वास्थ्य चौकीका कर्मचारीको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि बरेङ गाउँपालिका अध्यक्ष तथा स्वास्थ्य चौकीका संरक्षक कृष्णप्रसाद शर्माले दुइ दशक भन्दा बढी बिना तलब, बिना भत्ता इमान्दारीका साथ सामाजिक कार्य अतुलनीय रहेकोमा स्वयम्सेविका पुनलाई प्रशंसा व्यक्त गरेका थिए ।”
धुल्लुबास्कोट स्वास्थ्य चौकी कार्यालयका अध्यक्ष तथा वडा नम्बर १ का अध्यक्ष नरसिंह पुनको अध्यक्षता निमित्त स्वास्थ्य चौकी इन्चार्ज गौमाया थापाको स्वागत मन्तव्य र पुर्व धुल्लुबास्कोट स्वास्थ्य चौकी इन्चार्ज तथा बरेङ गाउँपालिकाका स्वास्थ्य प्रमुख पदम बहादुर पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।