सर्वोदय मावि बरेङमा लागूपदार्थ सेवन न्यूनिकरण सम्बन्धि तालिम
लेखान्त पुन, बरेङ । २९ जेठ २०७६ । सर्वोदय माध्यमिक विद्यालय बरेङ्गमा विद्यार्थीहरुको लागि तयारी खानेकुरा तथा लागूपदार्थ सेवन न्यूनिकरण र किशोरी प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ ।
बरेङ गाउँपालिकाको आयोजनामा बुधवार सो कार्यक्रम सम्पन्न भएको हो । तालिममा कक्षा ८ देखी कक्षा १२ सम्मका १ सय ५१ विद्यार्थीहरु सहभागी भएका थिए ।
समाजमा बढ्दै गैरहेको लागूपदार्थ दुव्र्यसनीको प्रयोग न्यूनिकरण, महिनावारी हुँदा किशोरी तथा महिलाहरुलाई हेर्न समाजको भ्रमपूर्ण दृष्टिकोणमा परिवर्तन गर्न सकियोस् भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको बरेङ्ग गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले जानकारी दिनुभयो ।
विद्यालय तहका किशोर किशोरी मार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य सहित गाउँपालिकाका सबै माध्यमिक विद्यालयहरुका यो तालिम सञ्चालन गरिएको पुनले जानकारी दिनुभयो । मंगलवार हुग्दिशिरको भृकुटी माध्यमिक विद्यालयमा सो तालिम सम्पन्न भएको थियो ।
तालिममा सहजिकरण गर्दैे बरेङ गाउँपालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुनले समाजमा नारीहरु महिनावारी हुँदा समाजले हेर्ने दृष्टिकोण फरक छ । कतिपय ठाउँमा महिनावारी भएका महिलालाई छाउघर बनाएर छुट्टै राख्ने प्रचलन छ त्यस्तो गर्दा रोग लाग्ने सम्भावना बढी हुन्छ अझ परिवारका अन्य सदस्यहरु सँग छोइन हुँदैन, घर भित्र पस्न हुँदैन भन्ने जुन भ्रम छ त्यसलाई चिर्नको लागि र महिनावारी हुने भनेको नारी परिपक्व भएपछी नियमित हुने प्राकृतिक प्रक्रिया हो त्यसैले महिनावारीको बारेमा शिक्षित नारी पुरुष खुलेर समाजलाइ बुझाउनु पर्ने बताउनुभयो ।
महिनावारी हुँदा सेनेटरी प्याडको प्रयोग, दैनिक सरसफाइ गर्नुपर्दछ भन्ने कुराको जनचेतना फैलाउन पुनले किशोरीहरुलाई अनुरोध गर्नुभयो ।
त्यस्तै समाजका युवा पुस्तामा त झन धूम्रपान र मद्यपान सेवनले गर्दा झैझगडा, दुर्व्यवहार, बलात्कार जस्ता घटना भइरहेका छन् । लागुपदार्थ सेवनका कारण उमेर नपुग्दै मृत्यु हुने सम्भावना प्रबल रहेको र यसको बारेमा बेलैमा युवा पुस्ताले बुझ्नु जरुरी रहेको इलाका प्रहरी कार्यालय बरेङ डाडाका प्रहरी निरीक्षक नरेन्द्रजंग कार्कीले बताउनुभयो ।
तालिममा सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर हरिमाया थापाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु जङगफुडजन्य खानेकुरा खान अत्यन्तै रुचि राख्ने, कसरी छिटो भोजन गर्ने भन्ने चलन छ ति खानेकुराले बालक देखि वृद्ध सम्मका व्यक्तिहरुको स्वास्थ्यमा नराम्रो असर परिरहेको थाहा पाएका छैनन् । त्यसैले प्रोटिन र पौष्टिक आहारको कमी भइरहेको छ यसको बारेमा चेतना जगाउनु जरुरी रहेको र तालिमले पनि उनिहरुको व्यवहार परिवर्तन गर्न सहयोग पुर्याउने बताउनुभयो ।
त्यस्तै विद्यार्थीहरुलाई चेतनामूलक तालिम बाट लजाउने, डराउने अवगुण हटाइ समाज रुपान्तरणका लागि उनिहरुलाई नै अग्रसर बनाउन तालिमको महत्वपूर्ण भूमिका हुने स्वास्थ्य प्रमुख पुनले बताउनुभयो ।
तालिमको सहजीकरण बरेङ गाउँपालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुन, सुआहारा कार्यक्रमको फिल्ड सुपरभाइजर हरिमाया थापा, इलाका प्रहरी कार्यालय बरेङका प्रहरी निरीक्षक नरेन्द्रजंग कार्कीले गर्नुभएको थियो ।