बरेङ गाउँपालिकामा मेलमिलाप सम्बन्धि तालिम सुरु
लेखान्त पुन,बरेङ । ६ असार २०७६ । बागलुङको बरेङ गाउँपालिकामा एक हप्ते मेलमिलाप सम्बन्धि तालिम सुरु भएको छ ।
तालिमको बिहीबार गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै अध्यक्ष शर्माले समुदायमा हुने झैझगडा लगाएतका समस्याहरु स्थानिय स्तरमै समाधान गरी सामाजिक सहिष्णुता, आपसी मेलमिलाप तथा मित्रता कायम राख्न तालिमले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । समाजका भद्रभलाद्मीहरुको बीचमा आपसी छलफल र समझदारीबाट समस्या समाधान गर्ने परम्परतागत सामाजिक चलनलाई थप व्यवस्थित गरेर विभिन्न समस्याहरुको समाधान गर्न पनि त्यस तालिमले सहयोग गर्ने शर्माले बताए ।
बरेङ गाउँपालिकाका प्रशासकिय अधिकृत बैकुण्ठ पौडेलले तालिममा सहभागीहरुलाई स्वागत गर्दै स्थानिय स्तरमा हुने समस्याहरु सदरमुकाम वा अदालत नगइ स्थानिय रुपमा नै मिलाउन सकेमा खर्च पनि कम हुने, रिस डाहा नरहने, मित्रता कायम रहने बताए ।
सात दिन सम्म चल्ने तालिममा उद्धव प्रसाद अधिकारी, इराधा पहाडी अधिकारी र सुरज ढकालले सहजीकरण गरिरहेका छन् । स्थानीय स्तरका विविध विषयमा आइपर्न सक्ने समस्याहरुलाई अदालत सम्म नपुगी स्थानिय रुपमा नै के कसरी समाधान गर्न सकिन्छ भन्ने विषय तालिममा सिकाइने छ । त्यस्तै नेपाल सरकारले मेलमिलाप सम्बन्धि २०६८ सालमा ल्याएको ऐनको बारेमा पनि तालिममा चर्चा गरिने छ ।
बरेङ गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितीकी संयोजक डिलकुमारी पुनको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको सञ्चालन बरेङ गाउँपालिकाका योजना शाखा प्रमुख मिलन श्रीस रानाले गरेका थिए ।
« बाग्लुङ सल्यान स्वास्थ्य चौकीको सामाजिक परिक्षण तथा आम भेला सम्पन्न । «
» बरेङ गापाद्वारा २७ करोड बढीको बजेट सार्वजनिक, वडा अध्यक्षहरुको एकरुपता प्रशंसनिय ः ढूङगाना । »