पर्यटनविद् ढकालको टोली धुवाँखोलामा, विभिन्न विषयमा प्रशिक्षणका लागि ८ प्रशिक्षकको उपस्थिति
केशबराज क्षेत्री, बरेङ । २०७६ आषाढ १८ । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङमा आधारभूत घरबास सम्बन्धि तालिमको उद्घाटन भएको छ ।
साविकको भुर्तुङ वडा नम्बर १ का आमा समूह र क्लबहरुद्धारा सञ्चालनमा ल्याइएको धुँवाखोला होमस्टे को मङ्गलबार कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बेद थापा मगरले उद्घाटन गरेका हुन् ।
उद्घाटन अवसरमा बोल्दै थापाले प्राकृतिक सौन्दर्यता, धार्मिक तथा साँस्कृतिक परम्परा, स्थानीय अर्गानिक परिकारहरुको खाना र गाउँले वातावरणको आत्मिय बसाइँ रहेको यस होमस्टेमा स्थानीय लोक सँस्कृति झल्काउने गीत र नृत्यको प्रदर्शनी अझ अविष्मरणीय रहेको बताए । उनले आफ्नो गाउँको विकास हामी आफँै गर्न सक्छौँ त्यो पनि रमणीय तरिकालेः त्यसको उदाहरण धुवाँखोला होमस्टे रहेको उल्लेख गरे । आफूले पनि सहयोग गर्ने नमुना होमस्टेको रुपमा परिचित गराउन र गाउँगाउँमा पर्यटक भित्राएर आर्थिक रुपमा सक्षम बनाउन स्थानीयको नै भूमिका हुने अध्यक्ष थापाले बताए ।
काठमाडौँबाट पर्यटनविद् जगतशेखर ढकालको नेतृत्वमा ८ जना प्रशिक्षकहरु धुवाँखोला होमस्टेमा उपस्थिति भएको आयोजकले बताएको छ । तालिममा नृत्य र संगीत , सरसफाइ , व्यवस्थापन र हाउस किपिङ सम्बन्धि आयोजकलाई प्रशिक्षण हुने बताइएको छ ।
असार २२ गते सम्म तालिम सञ्चालन हुनेछ । प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक पक्षहरुको संरक्षण र प्रवद्धन गर्दै सामाजिक तथा आर्थिक स्तर उन्नती गर्ने उद्देश्यले होमस्टे सञ्चालन गरिएको होमस्टेका अध्यक्ष राजेन्द्र गुरुङले बताए ।
होमस्टे सञ्चालन भएको करिब एक वर्षको अवधिभित्र हालसम्म ४२७ पर्यटक भित्रिएका र करिब ६ लाख आम्दानी भएको सचिव आशिष गरुङले बताए । धुवाँखोला होमस्टे आउने पाहुनाहरुले सिद्धवाबा कालिलेख, हिले सत्यवती मन्दिर, गाउँ वरपर भएका ऐतिहासिक धरोहरुको अवलोकन गर्न पाउने र स्थानीय कोदोको ढिडो, कोदोको सेल, आटो, गुन्द्रुक मकै, मकैको सेल, विशुद्ध अर्गानिक निउरो खान पाइने होमस्टे सञ्चालक समितिका सचिव गुरुङले जानकारी दिए ।
कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापा, कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लोकप्रताप शाह र कालीगण्डकी गाउँपालिका ने.क.पा अध्यक्ष रामजी ढकालले मन्तव्य व्यक्त गरेका थिए भने होमस्टेका अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षता, सचिव आशिष गुरुङको स्वागत मन्तव्य र प्रशिक्षक तथा पर्यटनविद् जगतशेखर ढकालको सञ्चालनमा तालिम सम्पन्न भएको थियो । आगन्तुक पाहुनाहरुलाई स्थानीय सांस्कृतिक नृत्यद्धारा सम्मान पनि गरिएको थियो ।
« बिहानीको सदस्य अभिमुखिकरण बरेङमा, सहकारीको कर्जा नतिर्ने अब सजिलै कानुनी कठ्घरामा ः जिसी । «
» जैमिनि नगरपालिकामा बिहानीको सदस्य अभिमुखिकरण तथा लेखा व्यवस्थापन तालिम । »