विचार ः शिखर, यात्रा र मौसम सागर कुँवर
सागर कुँवर, बागलुङ । धर्तिमा जे जति फुलहरु उम्रन्छन, तिनको आफ्नै विशेता रहेको छ । कतिपय निमोठेर फ्याक्दा पनि फेरि उम्रन्छन । कतिपय धेरै स्याहार–सुसार गर्दा पनि राम्रो हुँदैनन । कतिपय फुलहरु सुन्दर हुन्छन र अति मीठो वास्ना दिन्छन तर तिनिहरुको नाम सुन्दर हुँदैन । कतिपय फुलहरुको नाम सुन्दर हुन्छ्न तर वास्ना राम्रो हुँदैन । तै पनि ती सबै प्रकारका फुलहरु उम्रदैनन मात्र, आफ्नै गुण र विशेषता अनुसार उम्रन्छन, हुर्कन्छन, फुल्छन अनि आफ्नो विशेषता अनुरुपको सुगन्ध पनि दिन्छन् । ती सबै फुलहरु नै हुन । आफ्नो विषेशता अनुसारको सुगन्ध दिनु तीनिहरुको आफ्नो प्राकृतिक देन हो । तिनै फुलहरु फुलाएर कतिपय मान्छेले जीवन चलाएका पनि छन । मानिसहरुले तीनै फूलहरुको उपयोग गरेर आफ्नो जीवन समेत सुन्दर बनाएका छन् र त्यसको निरन्तरता समेत दिएका छन् तर कतिपय मान्छेहरु ती फूलहरुको उपयोग गर्दछन र पुनः फुल्न नदिने खेलमा नाचिरहेका हुन्छन् । त्यही प्रकारको खेल यो चराचर जगतमा बारम्बार चल्दै आएको छ ।
यो धर्तीमा सुगन्ध छर्न र सजाउन ती फुलहरुको सधै महत्व रहन्छ । फुलहरुको सुन्दर बगैंचा निर्माण गर्न बगैंचाको उचित व्यवस्थापन गर्ने देखि लिएर हजारौं फुलहरु फुलाउन सक्ने माली चाहिन्छ । मालीको फुल सम्बन्धी दृष्टिकोण र योजना जति सुन्दर छ, बगैंचा पनि त्यति नै सुन्दर हुन्छ । त्यही आधारमा बगैंचा पनि सुन्दर र विशाल बन्दै जान्छ । त्यो आवश्यकता पनि हो । जब मालीले बगैंचा सुन्दर बनाउने नाममा आफूलाई मन पर्ने फूलहरु मात्र राख्दछ र अरु फूलहरुलाई उखेलेर फाल्दछ भने त्यहाँ सुन्दर बगैंचाको निर्माण पनि हुन्न र त्यो माली सफल माली पनि बन्न सक्दैन् । त्यसरी बगैंचा सुन्दर नबन्नुमा फूलको दोष हुन्न, मालीको नै दोष हुन्छ ।
हामीले सुन्दर बगैंचाको आशा मात्र गरेर हुदैन, त्यसको लागि आवाश्यक योजना र दृष्टिकोण पनि चाहिन्छ । कोपिलामा नै फुलहरु चुड्ने बानी लागेकाहरुबाट सुन्दर बगैंचाको आशा गर्नु गलत हुन्छ । हजारौं फुलहरु फुल्न नदिने बगैंचामा सुन्दर वास्नाको कुनै परिकल्पना गर्न सकिन्न ।कतिपय मालीहरुले बगैंचामा फुलहरु कोपिलामा निमोठिदिने गर्दछन तर उनिहरुले फुल निमोठेको वताउँदैनन । बगैंचामा आएका झारपातहरु सफा गरेको हो भन्छन । बगैंचा सफा गर्ने सवालमा सुन्दर फुल नै निमोठेर फ्याकीदिन्छन । त्यसरि कहिल्यै सुन्दर बगैंचाको निर्माण सम्भव हुन्न ।सुन्दर बगैंचाको निर्माण गर्दा केही झारपातहरु बाँकी रहुन तर बगैंचा सफा गर्ने नाममा सुन्दर फुलहरु फ्याकिनु हुन्न । बाकी रहेका झारपातलाई पुन सफा गर्दा हटाउन सकिन्छ । त्यो आधारमा सुन्दर र विशाल बगैंचाको निर्माण गर्न सकिन्छ ।
जसरी सुन्दर बगैंचा निर्माण गर्नको लागि सबै फूलहरु रोप्ने, हुर्काउने, फुलाउने काम गर्नुपर्दछ, ठिक त्यसरी नै कुनै उद्देश्य राखेर गरिने यात्रालाई सफल बनाउन पनि उचित दृष्टिकोण, सहि योजना र त्यो योजना अनुरुप यात्रा तय गर्न सक्नु पर्दछ ।
महान लक्षमा पुग्ने यात्रामा अनेकौं कठिनाइहरु आउनु अस्वभाविक होइन कठिनाइ बिनाको यात्रा सजिलो त हुन्छ तर दिगो हुँदैन । आजको बहस पनि कठिन तर दिगो बाटो हिड्ने कि सजिलो बाटो हिड्ने हो । घुम्तीहरुको उकालो नचढेसम्म शिखरमा पुग्न सकिन्न। सम्मो फाटैफाट हिडेर पनि शिखरमा पुग्छम भन्नेलाई हस हजुर नमस्कार भन्दा अरु भन्न आवश्यक छैन। शिखर चढ्नेहरुको गन्तव्य निरन्तर अगाडि बढ्नुपर्छ । शिखर चढ्ने यात्रामा मरिन्छ कि भनेर डराउनेहरुलाई त यात्री बनाउन सकिन्न । शिखरमा पुग्न आवश्यक तयारी नगरिकन त्यहाँ पुग्न सकिन्न । त्यसको तयारी पनि गर्न हुन्न भन्नेहरु शिखरमा पुग्न नै चाहन्नन । शिखरमा पुग्दा बाटोमा हुने खतरालाई देखाएर त्यहाँ पुग्न नै नखोज्नु गम्भीर विचलन हो । त्यो प्रकारको विचलनले शिखरमा पुग्ने यात्रालाई परिस्थिति अनुकुल र प्रतिकुलको नाममा बिच बाटोमा नै रोकिदिन्छ
आजको स्थितिमा शिखर चढ्न हिडेका केही साथीहरुले माथी त चिसो छ जान सकिँदैन पनि भनेका छन । प्रतिकुल मौसम छ, जानू हुँदै हुदैन भनेका छ्न । त्यो मौसम कहिले अनुकुल हुन्छ, त्यो भने भनेका छैनन । मौसमविदले मौसममा आउने फेरवदलको त जानकारी दिन्छन । साथिहरुले शिखरमा सधै चिसो छ भनेर त्यहाँ जान अस्विकार गरेका छन । प्रतिकुल मौसमलाई अनुकुल बनाउदै शिखरमा पुग्नुपर्ने समयमा साथीहरुले हुँदैन मात्र भन्छन, सजिलो बाटो मात्र हेर्छन । यसरी किनाराको फड्के साँची बस्न समेत डराउनेहरुले एक कदम अगाडि बढेर भन्छन बाटोको सुरक्षा हामीले गर्छम अहिले हिड्नु हुँदैन, मरिहालिन्छ । मृत्युसङ्ग सचेत हुनु त ठिक हो तर मृत्युसङ्ग सचेत हुने नाममा डराएर यात्रा नै नगर्नु गलत हो ।
तर, मित्रहरुले यो बुझ्दैनन कि त्यहाँ हुने चिसोमा न्यानो पनि छ । जाडो मौसम पार नगरिकन गर्मी मौसम त आउदैन । जाडोमा जान हुन्न, निमोनिया भैहाल्छ भन्नेहरुलाई यो बुझ्नुपर्छ कि तातो कपडा लगाएर, आवस्यक सामाग्रीहरुको बन्दोवस्त गर्ने हो भने जाडो मौसममा निमोनिया हुँदै हुँदैन । निमोनियाको डरले गर्मीमा मात्र बस्न खोज्नेले यो बुझ्नै पर्छ कि त्यहाँ लामखुट्टेको डर छ । स्थितिलाई सहि ढङ्गले बुझ्नेहरुलाई मात्र थाह छ कि त्यस प्रकारको मौसमाको सामना गर्न जाडोमा न्यानो कपडा र गर्मीमा लामखुट्टेबाट झुलको आवश्यक छ ।
वर्षयाममा पुल नभएको खोला तर्न बढी गार्हो हुन्छ । गाह्रो हुन्छ भन्दैमा पुल बनेर त्यो खोला तरम्ला भनेर त हुँदैन । त्यो खोला नतरेसम्म अगाडि बढ्न नै सकिँदैन । त्यहाँ तत्कालको जे उपाय छ, त्यो प्रयोग गर्नुपर्छ र होसियारी पुर्वक त्यो खोला तर्नुपर्छ । तर पक्की पुल बनेपछी मात्र खोला तरम्ला अहिले यहि किनारमा गिटि कुटेर बसम भन्ने हो भने बाढी आएर बगाएर लैजान्छ । त्यसकारण खोला तर्न पक्की पुल कुरेर मात्र बस्नु सहि हुन्न । त्यसको तल माथी जहाँ बाट खोला तर्दा सुरक्षित र गन्तब्यमा पुग्न सकिन्छ, खोला तर्नुपर्छ । यात्रालाई रोक्न हुन्न, निरन्तर संघर्षशिल गतिमा अगाडि बढाउन पर्छ ।
आफूलाई मन पर्ने फूलहरु मात्र राख्ने र अन्य फूलहरुलाई फ्याक्ने, आफू जान सकिन्न भनेर यात्रालाई रोक्ने र त्यसलाई मौसम प्रतिकुल बताउने, पुलको पर्खाइमा खाली किनारामा गिटी कुटेर बस्ने पात्रहरुले फेरी भन्दैछन्, यात्रा पनि गर्ने हो, खोला पनि तर्ने हो । यात्रा गर्न मौसम अनुकुल बनाइदिनुपर्छ, खोला तर्न पुल पनि बनाइदिनुपर्छ, हामीले पुल बनाउन सक्दैनम,हाम्रो विरोध गर्न पनि पाइन्न् भन्नेहरुको बाजातालमा पनि ताल नआइकन नाच्नेहरुलाई पनि कुरी कुरी । धन्यवाद ।
समाजशास्त्र तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका लेखक कँुवर समसामयिक, सामाजिक तथा राजनीतिक विषयाका क्षेत्रमा कलम चलाउन दख्खल छन् ।
« रेडियो बिहानीले सुरुवात गर्यो “अनलाइन तिज गीत कम्पिटिसन २०७६” «
» मोटर बाटोको कारण जनता प्रा. बि. किटेनी धरापमा, न बाटो रहयोे, न रहने भयो विद्यालय । »







