मोटर बाटोको कारण जनता प्रा. बि. किटेनी धरापमा, न बाटो रहयोे, न रहने भयो विद्यालय ।
प्रकाश छन्त्याल, राङखानी । २०७६ साउन २१ । बागलुङको जैमिनी नगरपालिका वडा नं १० राङखानी किटेनीको जनता प्राथमिक विद्यालय पहिरोको चपेटोमा परेको छ ।
स्थानिय सरकारको स्थापना पश्चात विस्तारित मोटर बाटोका कारण विभिन्न ठाँउहरुमा यो सास्ती खेप्नु परेसँगै यस विद्यालय पनि धरापमा परेको हो । गत बर्ष नगरपालिकाको बाटो विकास योजना अनुसार जैमिनी नगरपालिका देखी बरेङ गाँउपालिका जोडने मोटर बाटो विद्यालय रहेको स्थान किटेनी देखी बिस्तार गरिएको थियो ।
विस्तारित बाटो जनता प्राथमिक विद्यालयको माथिल्लो क्षेत्र र अनेक घुम्तीहरुको कटानको बिचमा विद्यालय परेको थियो । यस बर्षको अबिरल वर्षाको कारण विद्यालयको माथिल्लो क्षेत्र देखी पहिरो खस्ने र तल्लो क्षेत्र देखी पहिरोले तान्ने क्रम बढ्दो रहेको कारण पठन पाठनमा गर्न गराउन समस्या भएको छ ।
विद्यालयको ३ वटा भवन मध्ये एउटा भवन पहिरोले पुरे पछि राष्ट्रिय पुनरनिर्माण बागलुङको सहयोगमा २ कोठे ट्रस्ट विद्यालय पुरिएको भवन फाली पुनःनिर्माण गरिएको भएता पनि मोटर बाटोमा पहिरो खस्ने क्रम यथावत रहे पछि व्धिालय संचालनमा समस्या आएको प्रधानाध्यापक कृष्णा श्रीसले बताइन् ।
गत बर्षको पहिरोले विद्यालय पुरे पछि बिभिन्न संघ सस्थामा हारगुहार गरि निर्माण गरिएको भवन फेरी पहिरोले पुरिने अवस्था आएपछि अर्को बिकल्प के सोच्ने ? विद्यार्थीको पठन पाठनलाई कसरी र कहाँ संचालन गर्ने भन्ने चुनौती थपिएको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रकाश छन्त्यालले बताए । रेड स्टार निर्माण सेवा प्रा.लि.द्धारा हालसालै निर्माण गरेको ट्रस्ट २ कोठे भवन किटेनी गाँउको सुरक्षित सार्वजनिक ठाउँमा निर्माण गरेतापनि यो समस्या नआउने र केहि समय कष्टकर अवस्थामा पठनपाठन गराउन मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्त्यालले बताए ।
गाउँको विकासका लागि निर्माण गरिएको मोटरबाटो अहिले न मोटर बाटो रहयो ,न विद्यालय रहने अवस्था रहयो, न त योजनाको बजेटको नै सदुपयोग भयो । यसरी विकासका योजना लिंदा समिती र प्राविधिक बिचको सहकार्य फितलो देखिएको छ । अहिले विद्यालयमा आउने जाने गोरेटोबाटो नहँुदा समेत स–साना विद्यार्थीलाई समस्या परेको छ । विद्यालयमा ५ जना शिक्षक शिक्षिका र ४२ जना विद्यार्थीहरु पठनपाठन गर्दै आईरहेका छन ।
पहिरोको जोखिमका कारण मंगलबार देखि ५ दिन सम्म विद्यालयल बन्द गर्ने निर्णय त भएको छ । तर यो समस्याको समाधान होईन, फेरि पठनपाठनलाई निरन्तरता दिने सम्भावना पनि छैन । त्यसैले जनता प्राथमिक विद्यालय समस्याको चपेटोमा परेको छ । यसरी कतै विकास गर्ने योजनाले विद्यार्थीहरुकै भविश्य अन्यौलतामा परेको छ भने यो अप्ठयरो समस्याको समाधानको लागि सरोकारवालाको चाँडो भन्दा चाँडो ध्यान जाओस् विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष छन्त्यालले आग्रह गरेका छन् ।
« विचार ः शिखर, यात्रा र मौसम सागर कुँवर «
» वनको अवसर र चुनौती विषयक अन्तरक्रियामा तेहरो कर लगाउने सरकारको नीतिको विरोध »







