पर्यटकको गन्तव्य सिग्दी सामुदायिक होमस्टे
केशबराज क्षेत्री,बरेङ । २०७६ साउन २८ । बागलुङ सदरमुकाम देखि दक्षिण भेग र गुल्मीको उत्तरी भेगको संगम स्थल बरेङ बजारबाट निकट रहेको सिग्दी सामुदायिक होमस्टे पर्यटकको गन्तव्यको रुपमा परिचित रहेको छ ।
बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर सिग्दीमा अवस्थित होमस्टे शहरी कोलाहल र धुलो धुँवाबाट टाढा र प्राकृतिक सौन्दर्यतामा रमाउँदै पारिवारिक वातावरणमा आरामदायी बिस्तारा तथा सुखद बसाइँ रहेकोले पर्यटकको रोजाइमा पर्न सफल भएको छ । स्थानीय रुपमै उत्पादित अर्गानिक खानाका परिकारहरुको स्वादका साथ स्थानीय लोक संस्कृति, सालैजो, सोरठी, मारुनी नृत्यमा रमाउन पाइने हुनाले होमस्टेमा आउने पाहुनाहरु हर्षित भएको होमस्टे सञ्चालन समितिका अध्यक्ष हिरा पुनले बताए ।
समुन्द्री सतहबाट करिब २१०० मिटरको उचाईमा रहेको सुन्दर र रमणीय सिग्दी गाउँमा रहेको सिग्दी सामुदायिक होमस्टे बरेङ गाउँपालिकाको पर्यटन क्षेत्रको लागि र पर्यटक भित्रयाउनको लागि महत्वपूर्ण स्थल रहनुका साथै होमस्टेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पक्षहरुको संरक्षण र प्रवद्र्धन गर्दै आर्थिक स्तर उन्नती गर्ने उद्देश्य रहेको बताइएको छ ।
होमस्टेमा प्रवेश गरिसकेपछि पर्यटकहरु पैदल यात्रा गरि मनोरम दृश्य अवलोकन गर्दै स्थानीयहरुको न्यानो आतिथ्यताको अनुभव गर्न पाउने होमस्टे सञ्चालन समितिका अध्यक्ष पुनले बताए । उलने भने होमस्टेमा आएका पाहुनाहरु पदमार्ग हुँदै विभिन्न ठाउँहरु समेत अवलोकन गर्न सक्ने छन् ।
गत जेष्ठ पहिलो हप्ता सम्पन्न होमस्टेको भवन बरेङ गाउँपालिकाको आर्थिक सहयोगमा भएको हो भने पदमार्ग निर्माणमा गण्डकी प्रदेशले सहयोग गरेको होमस्टे गत जेष्ठ १५ गतेबाट सञ्चालनमा आएको हो । होमस्टे सञ्चालन भएदेखि पाहुनाहरुको उल्लेख्य उपस्थिति रहेकाले पर्यटकको गन्तव्यको रुपमा सिग्दी सामुदायिक होमस्टे रहेको आयोजकले बताएको छ ।
« वनको अवसर र चुनौती विषयक अन्तरक्रियामा तेहरो कर लगाउने सरकारको नीतिको विरोध «
» बरेङमा लोप हुदै पम्परपरागत संगित सस्कृती, जर्गेना गर्न ६३ बर्षे पुनको आग्रह »







