स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई भाले उपहार
केशबराज क्षेत्री बरेङ । २०७६ असोज १४ । बागलुङको बरेङ गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य चेकजाँच गराएको रेकर्डको आधारमा उपहार दिने भएको छ । बरेङ गाउँपालिकाका सबै वडाभित्रका गर्भ अवस्थाका महिलाले बरेङ गाउँपालिकाकै पाएक पर्ने स्वास्थ्य संस्थामा पुगेर नियमित जाँच गराएपछि मात्रै गाउँपालिकाले भाले उपहार दिने छ ।
गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई भाले उपलब्ध गराउने छ । शाकाहारी गर्भवति महिलालाई भने घ्यू उपहार दिने व्यवस्था मिलाइएको गाउँपालिकाले बताएको छ ।
उपहार सँगै पोषण झोला समेत उपलव्ध गराउने गाउँपालिकाका अध्यक्ष शर्माले बताए । गाउँमै सुत्केरी गराउँदा सुत्केरी महिलाको स्वास्थ्यमा भएको समस्या बारे थाहा नहुन,े स्वास्थ्य संस्थामा गएपछि डर समेत नहुने भएकोले गाउँपालिकाले यस्तोे कार्यक्रम ल्याइएको शर्माले बताए ।
‘यस गाउँपालिकाका गाउँहरुमा अझै पनि घरमै सुत्केरी गराउने परम्परा रहेको छ,’ अध्यक्ष शर्माले भने ‘उक्त परम्परालाई हटाई स्वास्थ्य संस्थामा अनिवार्य जाने वातावरण सिर्जना गर्ने उद्देश्यले यस्तो कार्यक्रमको सुरुवात गरेको हो ।’
गर्भ अवस्थामा महिलाहरुलाई धेरै पोषण तत्व आवश्यक पर्ने भएको हुँदा गाउँपालिकाले सुत्केरी महिलाहरुको लागि केही मात्रामा भए पनि पोषणयुक्त उपहार दिन लागेको बताइएको छ । यसअघि गाउँपालिकाको आर्थिक सहयोग र सुआहाराको प्राविधिक सहयोगमा बरेङ गाउँपालिका भित्रका ४५७ सुत्केरी महिलाहरुलाई २२८५ चल्ला र ९१४ केजी दाना वितरण गरेको थियो ।







