धुल्लुबास्कोटको लिउँवामा व्यवसायिक भैँसीपालन सुरु
२०७६ पौष १३ । लिउँवा समाजसुधार कृषि तथा पशुपालन समूहले आइतबार व्यवसायिक भैँसीपालनको उद्घाटन गर्दै सुरुवात गरेको छ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोट लिउँवा गाउँमा अवस्थित उक्त समूहले १० वटा भैँसीबाट व्यवसायको सुरुवात गरेकोे छ ।
बरेङ गाउँपालिकाका प्रमुख कृष्णप्रसाद शर्माले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटन अवसरमा बोल्दै अध्यक्ष शर्माले कृषकहरुको पेशा संगै गाउँमा आर्थिक स्थिति कमजोर भएकालाई रोजगारको समेत अवसर हुने हुनाले र दुधमा आत्मनिर्भर बनाउनको लागि संस्थाले गर्न लागेको कामको प्रशंसा गरेका छन् । संस्थाले लगनशिल भै काम गर्दै व्यवसायलाई प्रभावकारी बनाएमा आगामी वर्षमा आर्थिक सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले उक्त व्यवसायको दीगो विकासका लागि गाउँपालिकाले सहयोग गर्ने बताउँदै सफलताको शुभकामना दिए । त्यस्तै उद्घाटन समारोहमा रेडियो बिहानीका स्टेशन कोर्डिनेटर प्रकाश छन्तेलले पत्रकारहरुले कलम नहल्लाइकन लेख्नको लागि संस्थाले सही तरिकाले व्यवसायलाई अगाडि बढाउनुपर्ने सुझाव दिए । कार्यक्रममा बरेङ गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन, वडा नं १ का वडा अध्यक्ष नरसिंह पुन, पूर्व गाविस अध्यक्ष गुणनिधि शर्मा र बिहानी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्णबहादुर पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समूले हाल दैनिक ४० लिटर दुध उत्पादन गरी समूहकै गाडिमा दुधलाई बजारीकरण गरिरहेको छ । बागलुङकै कुश्मीसेरा, बरेङ बजार संगै आफ्नै गाउँमा दुध खपत भएको संस्थाका अध्यक्ष भिमनाथ शर्माले बताए । गाउँका ३ जनालाई रोजगार दिएको संस्थाले अझ १० वटा भैँसी थपेर बढी भन्दा बढी दुधमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताइएको छ ।
« बरेङमा सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा सुझाव संकलन कार्यशाला गोष्ठी । «







