बरेङमा पैँचालिस असल बुहारी सम्मानित, चालिस सुत्केरी महिलालाई भाले उपहार
बरेङ । २०७६ पौष १८ । बरेङ गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिरले गाउँपालिकाभित्रका असल बुहारी, जेष्ठ नागरिक र सुत्केरी महिलालाई सम्मान गरेको छ ।
पालिकाले सुत्केरी प्रोत्साहन कार्यक्रम अन्र्तगत सुत्केरी महिलालाई रातो भाले, महिला लक्षित कार्यक्रम अन्तर्गत असल बुहारी सम्मान र उमेर ७० अन्र्तगत जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण सँगै औषधि वितरण गरेको हो ।
सामाजिक योगदान, सामाजिक प्रतिष्ठा, सामाजिक संघ सस्थामा आवद्ध, पारिवारिक मेलमिलाप, परिवारका सदस्यको उचित रेखदेख, सफा घर परिवार, शैक्षिक योग्यता, अतिथि सत्कार, बालबालिका शिक्षा सबैमा सक्षम महिलालाई असल बुहारीको रुपमा पालिकाले सम्मान गरेको गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो । उहाँले सम्मानित सबै महिलालाई अझै इमान्दारीपूर्वक सहनशील, सहृदयी, भै सामाजिक काम सँगै पारिवारिक कामलाई अगाडि बढाउन आग्रह गर्नुभयो । उपाध्यक्ष पुनले पालिकाका पाँच वडा भित्रबाट ४५ विवाहित महिला असल बुहारीको रुपमा सम्मानित भएको जानकारी दिनुभयो ।
शुक्रबार वडा नम्बर ५ सुखौरा साविकका ९ वडाका प्रत्येक वडाबाट एक÷एक जना गरी सम्मानपत्रद्धारा असल बुहारीका रुपमा रेनु गुरुङ, लक्ष्मी बोहोरा, बसन्ती पुन, पार्वती थापा, मिना शर्मा, मनिषा पुन, शान्ति क्षेत्री बोहोरा भट्राई, पार्वती शर्मा र सिता परियारलाई सम्मान गरिएको थियो भने ३ सुत्केरी महिलालाई भाले प्रदान गरिएको वडा अध्यक्ष अमर बहादुर शेरपुर्जाले जानकारी दिनुभयो ।
गाउँपालिका भित्र नियमानुसार स्वास्थ्य चौकीमा ४,६,८,९ महिनामा गरी चार पटक गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामा गई सुत्केरी हुने ४० महिलालाई रातो भाले प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख पदम बहादुर पुनले जानकारी दिनुभयो ।
त्यस्तै पालिकाले ७० वर्ष माथिका २८० जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण सँगै औषधि वितरण गरेकोे छ । जेष्ठ नागरिक सम्मान र महिला लक्षित कार्यक्रमलाई अझ थप व्यवस्थित गर्दै अगाडि बढाउने पालिकाले जनाएको छ ।







