बाटाकाचौर साग्दीमा स्वास्थ्य सेवा सुचारु, समन्वय प्रमुखद्धारा उद्घाटन
बरेङ । २०७६ पौष २८ । बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौर साग्दीमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना सँगै सेवा सुचारु भएको छ ।
स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि बरेङ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सोमबार पालिकाको वडा नम्बर ३ बाटाकाचौर साविकको १,७, ८ र ९ को केन्द्र साग्दीमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको पालिकाले बताएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरेका हुन् । सोही अवसरमा बोल्दै ढुङ्गानाले सहज तरिकाले स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका जनताहरुलाई लक्षित गरी सामान्य बिरामी हुँदा समेत टाढा जानुपर्ने बाध्यतालाई सुल्झाएकोमा पालिकाको प्रशंसा गरेका थिए । उनले पालिकाले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकतामा राखेमा विकासको गतिले छिटै फड्को मार्ने बताएका थिए ।
बाटाकाचौरको नयाँबजारमा स्वास्थ्य सेवा प्रवाह भैरहेको तर सबै जनतालाई पाएक नपरेकाले आश्यकताको परिपूर्ति गर्नका लागि पालिकाको सहयोगमा सोही वडाकै साग्दीमा सामुदायिक स्वास्थ्य इकाई सुचारु गरिएको पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
स्वास्थ्य इकाईमा आवश्यक पर्ने २ लाख बराबरको सामग्री हस्तान्तरण गरेको पालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले बताए । उद्घाटन अवसरको भेलामा उपस्थित बाटै १३ सदस्यीय सामुदायिक स्वास्थ्य इकाई सञ्चालन तथा व्यवस्थापन समिति समेत गठन गरिएको छ ।
वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णबहादुर खनालको अध्यक्षता, पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा, स्वास्थ्य संयोजक पदमबहादुर पुनको मन्तव्य, वडा सदस्य पृथ्वीबहादुर पुनको स्वागत मन्तव्य, वडा सचिव इन्द्रप्रसाद आचार्यको सञ्चालन कार्यक्रमको समापन भएको थियो ।
पालिकाकै सहयोगमा वडा नम्बर १ धुल्लुबास्कोटको गडेलमा पनि आइतबारबाट स्वास्थ्य सम्बन्धि सेवा सूचारु भएको छ ।
« धुल्लुबास्कोट गडेलमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना «
» पालिकाद्वारा कम्प्युटर टाइपिङ प्रतियोगिता, छात्रा छात्र दुवैमा पुरुषोदय मावि प्रथम »







