मनकामना युवा क्लब सिग्दीको माघी मेला सुरु
बरेङ । २०७६ पौष २९ । मनकामना युवा क्लबको २८ औं बार्षिक उत्सव तथा माघी मेला २०७६ को उद्घाटन भएको छ ।
बरेङ गाँउपालिका वडा नं २ हुग्दिशिर सिग्दी स्थित क्लबको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले रिबन काटेर उद्घाटन गरेका हुन् भने बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिल कुमारी पुनले खेलाडीहरुलाई बल हस्तान्तरण गरेकी थिइन् ।
उद्घाटन अवसरमा बोल्दै पालिका अध्यक्ष शर्माले क्लबले गर्न लागेका कार्यक्रम खेल, संस्कृति, शिक्षा, लगाएत कृषकहरुका लागि लाभदायक रहेको बताउँदै क्लबको प्रशंसा गरेका थिए । सबैलाई समेट्ने गरी विद्यार्थीका लागि हाजिरीजवाफ, खेलप्रेमीका लागि खेलकुद, नाच्नेहरुका लागि नृत्य र कृषकहरुका लागि कृषि, पशु तथा हस्तकला प्रर्दशनी क्लबको महत्वपूर्ण कार्यक्रम रहेको भन्दै शुभकामना प्रकट गरे ।
पुरुष भलिबल तर्फ मंगलबार भएको प्रगती युवा क्लब दलेङ र ग्रामिण जनसहभागिता विकास केन्द्र बरेङ बीचको उद्घाटन खेलमा प्रगति युवा क्लब हुग्दिशिर दलेङ बिजयी भएको छ ।१६ टिम सहभागी रहेको पुरुष भलिबल खेल तर्फ बिजेता टिमले नगद ५० हजार र उप बिजेता टिमले नगद २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ । माघ ३ गते सम्म सञ्चालन हुने मेलामा बुधबार जुनियर ब्याडमिण्टन खेल, कृषि तथा हस्तकला प्रर्दशनी ,माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता, सालैजो तथा सोरठी नृत्य प्रतियोगिता गरिने साथै बिहीबार र शुत्रबार मूल समारोह सहित राष्ट्रिय कलाकार को सांगितिक प्रस्तुति र हास्यकलाकारद्धारा हास्यात्मक प्रहसन रहन ेक्लबका अध्यक्ष मोहन पुनले बताए ।
कार्यक्रम क्लबका अध्यक्ष मोहन पुनको अध्यक्षता ,क्लबका पूर्व अध्यक्ष हिरा बहादुर पुनको स्वागत मन्तव्य र क्लबका सल्लाहकार मिन बहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।
« सर्वोदय माविका नव निर्मित दुई भवनको उद्घाटन, शिक्षामा त्रिकोणात्मक सम्बन्ध जरुरीःढुङ्गाना «







