सुत्केरी महिलालाई पोषिलो झोला, उज्यालो भविष्य बालबचत कार्यक्रम
केशबराज क्षेत्री, बरेङ । २०७६ माघ ६ । बरेङ गाउँपालिका गाउँकार्यपालिकको कार्यालय हुग्दिशिर बागलुङको आयोजनामा पोषिलो झोला कार्यक्रम सुरुवात भएको छ ।
पालिकाको ५ स्वास्थ्य चौकी र ३ सामुदायिक स्वास्थ्य इकाईमा माघ २ गतेबाट सोही कार्यक्रमको सुरुवात भएको पालिकाले बताएको छ । पहिलो पटक गर्भवती जाँच गराउने सुत्केरी महिलालाई पोषिलो झोला प्रदान गरिनुका साथै पोषिलो झोलाभित्र आयोडिनयुक्त नुन, रायो, मुला, धनिया, सिमी, बोडीको बिउ हुनेछ जसको उद्देश्य नियमित गर्भजाँच प्रोत्साहनका लागि महिलालाई नियमित संस्थागत सुत्केरी बनाउने र खानपानमा हरिया सागपात, आयोडिनयुक्त खाना खानुमा सल्लाह दिनु रहेको पालिका स्वास्थ्य प्रमुख पदमबहादुर पुनले बताए ।
पोषिलो झोला सँगै पालिकाले उज्यालो भविष्य बालबचत कार्यक्रम समेत सञ्चालन गरेको छ । सुत्केरी महिलाले स्वास्थ्य संस्थामा नियमित ४ पटक नियमानुसार चेकजाँच गराएमा, संस्थागत सुत्केरी भएमा र ३५ दिन भित्र बच्चाको जन्मदर्ता बनाएमा उज्यालो भविष्य बालबचत कार्यक्रममा समावेश हुन पाउने पालिकाले नीति बनाएको स्वास्थ्य प्रमुख पुनले जानकारी दिए ।
उज्यालो भविष्य बालबचत कार्यक्रम अन्र्तगत छोरा जन्मेमा पालिकाले एकपटक मात्र बालकको खातामा एक हजार जम्मा गरिदिने छ भने छोरी जन्मेमा हरेक महिना एक सयका दरले २० वर्ष सम्म बालिकाको खातामा रकम जम्मा गरिदिने पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
उक्त सुविधा पाउनका लागि बच्चाको आमाबाबुले पनि पालिका सँगै छोरीको खातामा २० वर्ष सम्म नै एक सयका दरले रकम जम्मा गर्नुपर्नेछ । यदि छोरी २० वर्षको हुँदासम्म आठ कक्षा पास नगरेमा, २० वर्ष उमेर नपुग्दै विवाह गरेमा पालिकाले जम्मा गरिदिएको रकम फिर्ता लिने प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।थापाले छोरा छोरी जुन जन्मे पनि २ बच्चाका लागि मात्र सोही सुविधा लागु हुनेछ तेस्रो बच्चा भएपछि उज्यालो भविष्य बचतमा पालिकाले सहयोग नगर्ने बताए ।
आउँदो चैत्र महिनाभित्र सुत्केरी महिला २० वर्ष उमेर भन्दा कम भएपनि यो सुविधा पाउने र आगामी वर्ष देखि बच्चाको आमा पनि २० वर्ष पुग्नुपर्ने नियम पालिकाले बनाएको छ ।
« माघी मेला सिग्दी ः सोरठी सालैजो नृत्य, कृषि तथा हस्तकला प्रर्दशनी «
» सुदलामा प्रहरी चौकी स्थापना हुने ः जग्गा निःशुल्क उपलब्ध »







