हात्तीपाइले रोग निवारणका लागि वडा स्तरिय कार्यक्रम
प्रकाश छन्त्याल, बरेङ । २०७६ माघ २२ । हात्तीपाइले रोग निवारणका लागि गरिएको दशक देखिको प्रयास असफल भएपछि स्वास्थ्य कार्यालय बागलुङले पुनः अभियान चलाउने भएको छ ।
नेपालका ६३ वटा जिल्लामा हात्तीपाइलेको जोखिम भेटिएकोले २ करोड ५० लाख नागरिकलाई औषधि खुवाउनु पर्ने अवस्था रहेको नेपाल सरकारको तथ्याङ्क छ ।
क्युलेस जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको निवारण हुन १ प्रतिशतमा आइपुग्नुपर्छ । तर बागलुङको नारायणस्थानमा बढ्दो दरमा हात्तीपाइलेको संक्रमण देखिएपछि स्वास्थ्य कार्यालयले जिल्लाभरीका नागरिकलाइ औषधि खुवाउने तयारी गरेको हो । केही वर्ष पहिले ३ प्रतिशत रहेकोमा घटेर २ दशमलब ३ प्रतिशत पुगेको थियो । अहिले त्यो दर अझै घटाउने लक्ष्यमा जिल्ला स्वास्थ्य कार्यालय बागलुङ लागिपरेको छ ।
यसै सन्र्दभमा बरेङ गाँउपालिका भित्रका ४ वटा वडाहरुमा पनि सोमबार वडा स्तरिय योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी वडा भित्रका विद्यालयहरुका प्रधानाध्यापक स्वास्थ संस्थाका ईन्चार्ज, समाजसेवी सबैकोे उपस्थितीमा गोष्ठी सम्पन्न गरिएको पालिकाले बताएको छ । पालिकाकै वडा नं १ धुल्लुबाँस्कोटमा सोही कार्यक्रम आज गरिने बरेङ गाँउपालिका स्वास्थ्य संयोजक पदम बहादुर पुनले जानकारी दिए ।







