अभ्यास शिक्षणका छात्र शिक्षकद्धारा हुग्दिशिर प्रा.विमा अतिरिक्त क्रियाकलाप
हुग्दिशिर । २०७६ माघ २४ । हुग्दिशिर प्राथमिक विद्यालय पोखराचौरमा अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ ।
बरेङ गाउँपालिका वडा नम्बर २ पोखराचौरमा अवस्थित विद्यालयमा अभ्यास शिक्षणमा आएका छात्र शिक्षकद्धारा आज अतिरिक्त कार्यक्रम सम्पन्न भएको हो ।
भृकुटी माध्यमिक विद्यालयका ४ र सर्वोदय माध्यमिक विद्यालयका ४ जना गरी उक्त विद्यालयमा ८ जनाले यही माघ १२ गतेबाट अभ्यास शिक्षण गर्दै आएका छन् ।
अभ्यास शिक्षणका छात्र शिक्षकहरुले आयोजना गरेको कक्षा २ देखि ५ सम्मको हाजिरीजवाफ प्रतियोगितामा ग्रीन हाउस प्रथम, रेड हाउस द्धितीय र यल्लो हाउस तृतीय भएका थिए । त्यस्तै कक्षा १ देखि ५ सम्मको कुर्ची दौड प्रतियोगितामा आषिका परियार प्रथम, शिशिर वर्मा द्धितीय र शर्मिला परियार तृतीय भए । बिजेता प्रथम,द्धितीय र तृतीय हुने विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको अभ्यास शिक्षणका छात्र शिक्षक गोपाल शर्माले बताए ।
सोही अवसरमा बोल्दै विद्यालयका प्रध्यानाध्यापक जगबहादुर काउचाले अतिरिक्त क्रियाकलापले गर्दा विद्यार्थीमा बाह्य ज्ञान हुने बताएका थिए । उनले अभ्यास शिक्षणमा आएका छात्र शिक्षकहरुले सञ्चालन गरेको अतिरिक्त क्रियाकलाप प्रभावकारी रहेकोे समेत उल्लेख गरे ।
कक्षा ११ र १२ मा शिक्षा विषय अध्ययन गरेका विद्यार्थीहरुको ५० पूर्णाङ्कको अभ्यास शिक्षण गर्नुपर्ने प्रावधान रहेको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमानन्द शर्माको अध्यक्षता, सर्वोदय माध्यमिक विद्यालयका छात्र शिक्षक भिमकला विकको स्वागत र भृकुटी माध्यमिक विद्यालयका छात्र शिक्षक रमेश खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
« बरेङमा तीन दिने बाख्रापालन तालिम सुरु «
» राष्ट्रिय जनमोर्चा गुल्मीको एक महिने सांगठनिक कार्यक्रम सुरु »







