लिउँवा माविको ६० औँ वार्षिकोत्सवमा नव निर्मित दुई पक्की भवनको उद्घाटन
बरेङ । २०७६ फागनु १४ । बरेङ गाउँपालिका वडा नम्बर एक धुल्लुबास्कोटमा अवस्थित धुल्लुलिउँवा माध्यमिक विद्यालयले ६० औँ वार्षिकोत्सव मनाएको छ ।
जिल्लाको दक्षिण भेगमा अवस्थित सोेही विद्यालयले विविध शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ मंगलबार वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको मुल समारोहको दिन ४÷४ कोठे दुई पक्की भवनको समेत उद्घाटन भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) बागलुङबाट आर्थिक वर्ष २०७६।०७६ मा विनियोजित करिब ७० लाख रकम मध्येबाट ४ कोठे पक्की भवनको जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले शिलालेख अनावरण गरि उद्घाटन गर्दै चाबी हस्तान्तरण गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै ढुङगानाले शिक्षा विकासको मेरुदण्ड भएकाले हरेक विकासका कामको लागि शिक्षा आवश्यक पर्दछ । उहाँले चेतनास्तर फैलाउनका लागि शिक्षा अनवरत जीवनपर्यन्त सम्म चलिरहने प्रक्रिया रहेको बताउनुभयो । परिवार, समाज, देश विकास संगै समृद्धिका लागि महत्वपूर्ण टेवा पु¥याउने गरि दक्ष जनशक्तिको उत्पादन गर्न सक्ने विश्वास व्यक्त गर्दै विद्यार्थी, शिक्षक, अभिभावकले हातेमालो गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै नेपाल सरकार शिक्षा मन्त्रालय तत्कालीन जिल्ला शिक्षा कार्यालय बागलुङ र बरेङ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित ४ कोठे पक्की भवनको पनि उद्घाटन भएको छ । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले शिलालेख अनावरण गरि उक्त पक्की भवनको उद्घाटन गर्नुभएको हो । अध्यक्ष शर्माले पालिका भित्रको विकास योजना मध्ये शिक्षा विकासको लागि बढी बजेट विनियोजन संगै शिक्षामूलक कार्यक्रमहरु भैरहेको बताउनुभयो । शिक्षामा लगानी गर्नु चेतनाको स्तर बढाउनु हो, जसले गर्दा समाजमा रुढ बनीरहेका, अन्धविश्वास, जातियता, नारीदमन जस्ता कुसंस्कारहरु हट्नको लागि महत्वपूर्ण भूमिका खेल्ले बताउनुभयो ।
« बिहानी पोलिक्लिनिकद्धारा सर्वोदय माविमा दन्त स्वास्थ्य सचेतना कार्यक्रम «







