छोरी बुहारीहरुलाई निःशुल्क उच्च शिक्षा पढाउँदै मदाने गाउँपालिका
प्रेम सुनार गुल्मी, चैत्र–७ । गुल्मीको मदाने गाउँपालिकाले छोरी बुहारीहरुलाई निःशुल्क उच्च शिक्षा पढाउने भएको छ ।
आर्थिक अभावका कारण उच्च शिक्षाको संघारमा पुग्न नसकेका महिलाहरुलाई उच्च शिक्षाको पहुँच सम्म पुराउने उद्धेश्य अनुरुप जिल्लामै उदाहरणीय कार्यको थालनी गरेको छ । यसै शैक्षिक बर्ष देखि लागु हुने गरि छोरी बुहारी उच्च शिक्षा कार्यक्रम लागु गरेर महिलाहरुको पक्षमा उदाहरणीय कार्य गरेको हो ।
गाउँपालिकाले सम्पुर्ण खर्च ब्यहोर्ने गरि गाउँपालिकाकै पुर्कोदह स्थित जनज्योति क्याम्पसमा छोरी बुहारीहरुलाई बिएड प्रथम बर्षमा भर्ना गराउन सुरु गरेको छ । यस कार्यलाई गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्व मन्त्री गोकर्णराज विष्टले समेत उदाहरणीय कार्य भन्दै आफ्नो निर्वाचन क्षेत्रका सबै स्थानिय तहमा पनि मदानेले झै छोरी बुहारी उच्च शिक्षा कार्यक्रम लागु गर्न गराउन नेकपाका अगुवा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसीले गत बर्ष गाउँ गाउँमा बुझ्दै जाँदा पढ्ने ईच्छा हुँदाहुँदै पनि आर्थिक अभावका कारण बिशेष गरि दलित समुदाय र अन्य विपन्न बर्गका छोरी बुहारीहरु उच्च शिक्षा हाँसिल गर्न बाट बञ्चित भएको पाईए पछि छोरी बुहारी उच्च शिक्षा कार्यक्रम लागु गरिएको बताए । उनले स्नातक तह प्रथम बर्ष देखि चौथो बर्ष सम्म छोरी बुहारीहरुलाई निःशुल्क अध्ययन गराईने जानकारी दिए ।
महिलाहरुलाई उच्च शिक्षा हाँसिल गराउन गाउँपालिकाले नै अगुवाई गर्नु पर्नेमा गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको पनि जोड रहेको बताईन । पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीले सबै जनप्रतिनिधीहरुको जोड रहेकोले यस आर्थिक बर्ष देखि बिएड प्रथम बर्षको भर्ना सुरु गरिएको र आगामी बर्ष देखि कक्षा ११ र १२ मा पनि गाउँपालिकाले छोरी बुहारीहरुलाई निःशुल्क पढमउने लक्ष्य लिएको बताए ।







