भारत बाट आएका २ सहित ४ जना बरेङ गापाको क्वारेन्टाइनमा, पालिकाभर ३८ नयाँ भित्रिए निगरानी बढाईदै ।
१५ चैत्र २०७६, बरेङ । बरेङ गाँउपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा शुक्रवार देखि चार युवकलाई राखिएको छ । हाल महामारिको रुपमा विश्वव्यापी फैलिरहेको नोबेल कोरोना भाईरस अर्थात कोभिड– १९ को रोकथामका लागि बाहिर बाट पालिका प्रबेश गर्नेहरुलाई निगरानि गर्ने क्रममा उनिहरुलाई क्वारेन्टाइन राखिएको हो ।
भारतको मुम्बई बाट सुनौली र सुनौली बाट ५ दिन पैदल हिंडेर पालिका प्रबेश गर्न थालेका दुई र उनिहरुलाई सघाउन बिच बाटोसम्म गएका २ गरि ४ जनालाई क्वारेन्टाइन भर्ना गरिएको हो । जनप्रतिनिधि, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र स्थानियको रोहोवर, उपस्थिति तथा निगरानिमा उनिहरुलाई क्वारेन्टाइन राख्न शुरु गरिएको छ ।
यस सँगै बाहिर बाट समग्र बरेङ गाँउपालिका भित्रिने नबआगन्तुकको संख्या हाल सम्म ३८ पुगेको गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको भनाई छ । “आधिकारिक रुपमा रेकर्ड हुन आएको संख्या यहि हो, थप शंकास्पदहरुको बिषयमा खोजि तथा अनुसन्धानमा जुटिरहेका छौं” शर्माले बताए ।
उता नेपाल सरकारले ‘लक डाउन‘ को घोषणा गरेसँगै गाँउपालिका भित्रिने नबआगन्तुकको संख्या बढ्दै गएको हुंदा थप प्रहरी परिचालन गर्दै निगरानी बढाईएको इलाका प्रहरी कार्यलय बरेङ डाँडाका ईन्चार्ज, प्रहरी निरिक्षक नरेन्द्र जंग कार्कीले बताए । ईन्चार्ज कार्कीले थपेका छन् “गाँउ भित्रिनेहरुको संख्या बढेसंगै एकै ठाँउमा भेला हुने, जुवा तास खेल्ने तथा भोज भतेरमा संलग्न हुनेहरुको संख्यामा समेत बृद्धि भएको रिर्पोट प्राप्त भएको छ, त्यस्ता गतिबिधिहरु रोक्न तथा भए गरेको पाईएमा तत्काल कार्बाही गर्न प्रहरीले थप सजगता तथा निगरानी बढाएको छ ।“
भारतबाटै आएका बरेङ गाँउपालिकाका थप ४ जना पाल्पा स्थित क्वारेन्टाईनमा बसिरहेका छन्, उनिहरुलाई ल्याउने तथा ल्याईसकेपछि राख्नका लागि आज अर्को क्वारेन्टाईन निर्माण गर्ने तयारी बरेङ गाँउपालिकाले गरिरहेको छ ।
स्मरणिय छ, नेपाल सरकारले ‘लक डाउन’को घोषणा गरेसँगै बरेङ गाँउपालिका पनि शैक्षिक संस्था, बित्तिय संघ संस्था, बजार, सरकारी तथा गौह्र सरकारी कार्यलयहरु सहित पुर्ण ‘लक डाउन’को स्थितिमा रहेको छ ।







