बरेङमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै, ३१८ जनाले पाए रोजगार
बिहानी समाचारदाता, हुग्दिशिर । २०७७ असार १२ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बागलुङको बरेङ गाउँपालिकाका सुचिकृत बेरोजगारहरुले रोजगार पाएका छन् ।
कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहँदा लकडाउनको समयमा सामाजिक दुरी कायम गर्दै बरेङ गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत बेरोजगारहरुलाई काम दिएको छ ।
लकडाउनको समयमा अहिले पालिका भित्रको मुख्य मोटरबाटोको ढल कटान र पहिरो सफाइ गर्ने काम भैरहेको छ । अहिले पालिकाको वडा नम्बर १ धुल्लुबास्कोटमा करिब ३४ जनाले बरेङ देखि नाम्दुक सम्मको मोटरबाटो, वडा नम्बर २ हुग्दिशिरमा ४२ जनाले सर्वोदय क्याम्पस देखि काफलबोट थुम्का सम्मको मोटरबाटो र वडा नम्बर ३ बाटाकाचौरमा ४१ जनाले काफलबोट थुम्का देखि घट्टे सम्मको मोटरबाटोको ढल कटान र पहिरो पन्छाउने काम गरेको पालिकाका रोजगार संयोजक केशबराज क्षेत्रीले बताउनुभयो ।
गत महिनामा करिब २ सय जना रोजगार कार्यक्रममा सुचिकृत बेरोजगारहरुले पालिकाका सबै वडाभित्र काम सम्पन्न गरिसकेको रोजगार सेवा केन्द्रले बताएको छ ।
श्रमिकहरुको कामवापतको पारिश्रमिक भने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक वा स्थानीय तहले निर्धारण गरेको दररेटमध्ये जुन बढी हुन्छ सोही दर पाउने प्रावधान प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ मा रहेअनुसार पाइरहेका छन् भने श्रमिकहरुले काम गर्ने सामग्री रोजगार सेवा केन्द्रबाट उपलब्ध गराइएको रोजगार संयोजक क्षेत्रीले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आफ्नै स्थानीय तहभित्रको निर्माण कार्य, मर्मत संभार, मोटरबाटो सरसफाइ गर्ने काम पाउँदा श्रमिकहरुले गाउँपालिकाप्रति खुसी व्यक्त गरेका छन् ।