बेरोजगारीको तथ्यांक संकलन गर्दै बरेङ गाउँपालिका
१६ असार २०७७ । हुग्दिशिर । बागलुङको बरेङ गाउँपालिकाले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) का कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएर फर्किएकाको तथ्यांक संकलन सुरु गरेको छ । कोरोनाको संकटमा बेरोजगारीको खोजीका लागि गाउँपालिका रोजगार शाखा मार्फत ५ वटै वडाभित्र तथ्याङ्क संकलन सुरु गर्न लागिएको हो ।
बेरोजगारीलाई गाउँमै रोजगार उपलब्ध गराउन सकिने सम्भावनासँगै स्वरोजगारमुलक गतिविधिमा सक्रिय बनाउन आवश्यक तथ्याङ्क संकलन गरिएको रोजगार शाखाका प्रमुख केशबराज क्षेत्रीले बताउनुभयो ।
सबै वडामार्फत सूचना समेत जारी गर्नको लागि आह्वान गरिएको छ “आफ्नो विवरण अनलाइनमा पनि भर्न सकिने रोजगार शाखाका प्रमुख क्षेत्रीले भन्नुभयो ।” उहाँले अनुसार व्यक्तिगत विवरण सहित स्वदेश तथा विदेशमा रोजगार गुमाएको, विदेश फर्किने वा नर्फकिने, रोजगार गर्न चाहने वा व्यवसाय, रोजगार गर्न चाहने क्षेत्र, स्थान तालिमको प्रकार र सरकारसँगको अपेक्षा, सुझाव लगायत समेटिएको अनलाइन फाराम उपलब्ध रहेको र अनलाइनमा असम्भव हुनेले आफ्नो वडा कार्यालय गई फाराम भर्नुपर्ने बताउनुभयो ।
पालिका भित्र आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत बाँझो जमिनलाई प्रयोग गर्ने, कृषि क्षेत्रमा उत्पादनमुखीलाई प्राथमिकता दिने लगायतका योजनाहरु ल्याएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । ”वास्तविक रोजगार गुमेकालाई समेट्ने तथा एक घर एक रोजगारको व्यवस्था गर्ने प्रयासमा यो एउटा अवसर रहेको थापाको भनाइ छ ।“
बरेङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत विभिन्न योजनामा ३ सय बढीले काम गरिसकेका छन् ।







