एक घर एक महिला रोजगार कार्यक्रम मार्फत महिलालाई सक्रिय बनाउँदैः बरेङ गाउँपालिका
२० कार्तिक २०७७ । बरेङ । बागलुङको बरेङ गाउँपालिकाले महिलाहरुलाई आर्थिक अधिकार प्रदान गर्न तथा महिलालाई आर्थिक गतिविधि र क्रियाकलापमा सहभागी गराई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले एक घर एक महिला रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
मिति २०७७ असोज २ गते गाउँकार्यपालिकाको बैठकले स्वीकृत गरेको उक्त कार्यक्रमले महिलाहरु घरको काममा मात्र सीमित नरही बाहिरी आम्दानीमूलक कार्यमा पनि संलग्न भै आर्थिक रुपमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।“गाउँपालिकाभित्रका कुनै पनि वित्तीय संस्थाबाट रु पाँच लाखसम्म ऋण लिँदा त्यसको ६ प्रतिशत ब्याज गाउँपालिकाले तिर्ने गरी कार्यक्रम ल्याएका हौँ”, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भन्नुभयो, “यो समूह वा संस्था होइन महिलानै अग्रसर हुने गरी तयार पारिएको कार्यक्रम हो । ” बैंक तथा वित्तीय संस्थाले ऋण पत्याउनेगरी कार्ययोजना महिला आफैँले बनाउनुपर्नेछ ।
उद्यम गर्न चाहनेका लागि ऋणमा व्याज सहजिकरण गर्ने, उद्यमीहरुलाई आवश्यक पर्ने सामग्रीहरु हस्तान्तरण र उद्यम सञ्चालनमा लागेको लागतका आधारमा नगद प्रदान गर्ने गरि कार्यक्रमलाई ३ प्याकेजमा विभाजन गरिएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो ।
एक घर एक महिला रोजगार कार्यक्रमका लागि बिहिबार प्रकाशित सूचनाअनुसारसम्बन्धित वडा कार्यालयमा महिला वा आमा समूहहरुले आफ्नो कार्ययोजना सहित निवेदन पेश गर्नुपर्ने, समूहको हकमा संस्था दर्ता, प्यान नम्बर, कर चुक्ता र कार्ययोजना त्यस्तै व्यक्तिको हकमा नागरिकता, लागत अनुमान सहितको कार्ययोजना सहित ३० दिन भित्र सम्बन्धित वडा कार्यालयमा पेश गर्नुपर्ने प्रक्रिया रहेको जानकारी गराइएको छ ।
निवेदन दिएकाको पारिवारिक अवस्थाका आधारमा सम्बन्धित वडा समितिले निर्णय गरि प्राथमिकरण निर्धारण सहित महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामा पेश गर्नेछ र एक घर एक महिला रोजगार समितिले अति विपन्न, एकल महिला र सिर्जनशिल काम गर्ने महिलालाई जोड दिँदै छनोट गरि प्रक्रिया अगाडि बढाउने गाउँपालिकाले बताएको छ ।
पालिकाले पहिलो चरणको कार्यक्रमका लागि ३ लाख रकम विनियोजन गरेको छ । आवश्यकता र प्रभावकारिताको आधारमा आगामी आ.वमा समेत यस कार्यक्रमको लागि रकम थप गर्दै जाने पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । लघुउद्यममार्फत स्वरोजगारमा महिलालाई जोडेर उत्पादन वृद्धि र आत्मनिर्भर बनाउन सो कार्यक्रम लागू गरेको पालिकाअध्यक्ष शर्माले जानकारी दिनुभयो ।
यसअघि राज्य वा गैरराज्यबाट कुनै सुविधा नलिएका २० वर्ष देखि ४९ वर्ष उमेर समूहभित्रका महिलाले निवेदन पेश गर्न पाउने छन् । उद्यमशिलताको विकास, जीवनस्तरमा अभिवृद्धि भई समग्र गाउँपालिकाको समृद्धिमा सहयोग पु¥याउनको लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले कार्यक्रमको कार्यान्वयन गर्ने बताइएको छ ।
उत्पादनशिल (कृषि, पशुपालन, पर्यटन र आयआर्जन) का क्षेत्र कार्यक्रमको क्षेत्र रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ ।
े







