गरिब परिचयपत्र सरकारलाईनै फिर्ता ।
प्रकाश छन्त्याल, बरेङ । ०५ भाद्र २०७५ । बागलुङको बरेङ गाउँपालीका वडा नम्वर २ हुग्दिशिरका प्रेम प्रशाद शर्माले नेपाल सरकारले गरिब घरपरिवार पहिचान गरी वितरण गरेको परिचय पत्र फिर्ता गरेका छन् । शर्माले गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा र रेडियो बिहानीका स्टेशन कोअर्डिनेटर प्रकाश छन्त्यालको रोहबरमा परिचयपत्र फिर्ता लैजान भनी गाउँपालीकामा निबेदनका साथ पेश गर्नुभएका हो ।
सरकारले बास्तविक गरीबको पहिचान नै नगरी आफुजस्ता व्यक्तिहरुका नाममा परिचय पत्र वितरण गरेको र त्यो परिचय पत्र लिन आफु मापडण्ड भित्र नपर्ने भन्दै मंगलबार गाउँपालिकामा निवेदन पेश गर्नुभएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रशाद शर्माले जानकारी दिनुभयो ।
गरिब लक्षित सामाजिक शुरक्षा संरक्षण कार्यक्रम अन्तर्गत उहाँको नाममा मध्यम वर्गको गरिब नाम उल्लेखित भई आएकाले पहेँलो कार्ड वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कार्ड वितरण पछि उहाँले आफुले कार्ड लिन आफु योग्य नभएको प्रतिक्रिया दिनुभएको छ ।
आफ्नो स्तरभन्दा कम स्तरमा जनजीवन निर्वाह गरेका समाजमा धेरै व्यक्तिहरु रहेकाले बास्तविक गरिबीको मुल्याङ्कन गरेर परिचय पत्र वितरण गर्न उहाँको राज्यलाई सुझाब छ ।
सरकारले गरिब लक्षित सामाजिक शुरक्षा संरक्षण कार्यक्रम अन्तर्गत वितरण गरेको परिचय पत्र वास्तविक गरीब पहिचान नगरी आर्थिक अवस्थाले सम्पन्न व्यक्तिको नाम उल्लेख गरिएको भन्दै ठाउँ–ठाउँबाट विरोध भईरहेको छ ।
यसैविच बरेङ गाउँपालिकाले गरिब परिचय पत्र वितरण कार्यलाई तिव्रता दिएको छ । गत साउन २८ गतेदेखि वितरण गर्न सुरु गरेको गरिब परिचय पत्र हालसम्म ५ सय ६४ घर परिवारलाई वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठराज पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाले अति गरिब, मध्ययम गरिब र सामान्य गरिब पहिचान गरी परिचय पत्र वितरण गरिएको छ । गरिब परिचय पत्र अति गरिबलाई रातो कार्ड, मध्यमलाई पहेलो कार्ड र सामान्य गरिबलाई निलो कार्ड गरी तीन किसिमका कार्ड वितरण गरिरहेको छ ।
गरिब परिचय पत्र लिन बाकी रहेकालाई आगामाी १० गतेसम्म निरन्तर वितरण गर्नेे गाउँपालिका अध्यक्ष कृष्ण प्रशाद शर्माले जानकारी दिनुभयो ।
« धुल्लुबाँस्कोटमा शुरु गरिएको एक घर एक धारा आयोजनाको काम तिव्र गतिमा, ७० प्रतिशत काम सम्पन्न । «
» ‘अनलाईन तिज कम्पिटिसन २०७५’ का उत्कृष्ट २६ प्रतिस्पर्धी, कसको पालो कहिले ? नामावली सहित । »