बरेङमा संस्थागत सुत्केरी आमाहरुलाई कुखुराको भाले उपहार
२३ मंसिर २०७७ । दिपेन्द्र परियार, सुखौरा । बरेङ गाउँपालिका बागलुङले उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रमको सुरुवात गरेको छ ।
पालिकाको वडा नम्बर ४ र ५ का ९ सुत्केरी आमाहरुलाई मंगलबार एक कार्यक्रमकाबीच कुखुराको भाले र बच्चाका लागि सरसफाइ सामग्री वितरण गरिएको बताइएको छ । वडा नम्बर ५ सुखौराका ५ र वडा नम्बर ४ सल्यानका ४ जना सुत्केरी आमाहरुलाई कुखुराको भाले वितरण गरिएको हो ।
पालिकाले दिएका मापदण्ड पुरा गर्दै स्वास्थ्य संस्थामा पुगेर नियमित चेकअप गराउने गरेका सुत्केरीलाई प्रोत्साहन स्वरुप भाले उपहार दिइएको उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । गर्भवती महिलाहरुको लागि आमा र बच्चा दुवैको स्वास्थ्यलाई ध्यानमा राखेर पोसिलो झोला, उज्यालो बालबचत सुत्केरी प्रोत्साहन भत्ता वितरण गर्दै आइराखिएको छ । “गाउँपालिकाभित्र जन्मिने बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन र स्वास्थ्य संस्थामा उनीहरुको पहुँच पु¥याउन” पालिकाले आफ्नो नीति कार्यक्रममा यस्तो कार्यक्रमको समावेश गरेको उपाध्यक्ष पुनको भनाइ छ ।
उपहार सानो भएतापनि गर्भवती महिलालाई जोखिमबाट बचाउनका लागि सचेत हुन आग्रह गर्दै स्वास्थ्य संस्थामा नै सुत्केरी हुनुपर्छ भन्ने सोचको विकास गर्न कार्यक्रमले फाइदा पुग्ने बताइएको छ ।
पालिकाले चालु आ.व ०७७÷०७८ को नीति, कार्यक्रम तथा वार्षिक योजना अन्र्तगत सोही कार्यक्रमका लागि १ लाख ३० हजार बजेट विनियोजन गरेको छ ।
आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो बनाउने र सुत्केरी जोखिमलाई न्यूनीकरण गर्ने कार्यक्रमको उद्देश्य रहेको गाउँपालिकाले बताएको छ । गत वर्ष सल्यान र सुखौरामा सत प्रतिशत सुत्केरी आमाहरु स्वास्थ्य संस्थामा नै पुगेको स्वास्थ्यकर्मी सरला पुनले बताइन् ।
कार्यक्रममा वडा नम्बर ४ सल्यानकी रञ्जिता शर्माले आफूहरुलाई यस्ता कार्यक्रमले गर्दा स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्दो रहेछ भन्ने ज्ञान हासिल गराउनुका साथै स्वास्थ्य संस्थामा जानका लागि प्रोत्साहन गरेकोे भन्दै खुसी व्यक्त गरिन् ।
त्यस्तै सुखौराकी मनकुमारी सेरपुर्जाले भने आफ्नो वडामा वर्थिङ सेन्टर नहुँदा कहिले सल्यान, कहिले गुल्मी शान्तिपूर र पाल्पा जानुपरेको गुनासो गरिन् । यसको समाधानको लागि भने पालिकाले कदम चालेको पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
सुत्केरी आमाहरुको स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गाउँपालिकाको ५ वटा वडाभर चल्ने छ । गत वर्षबाट गाउँपालिकाले सुत्केरी महिलाहरुको लागि विभिन्न कार्यक्रम गर्र्दै आइराखेको छ ।







