बरेङमा ४६ सुत्केरी आमाहरुले पाए कुखुराको भाले उपहार
२६ मंसिर २०७७ । बरेङ । बरेङ गाउँपालिका बागलुङले सञ्चालन गरेको उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रम अन्र्तगत सुत्केरी आमाहरुले भाले उपहार पाएका छन् ।
पालिकाको ५ वटा वडाका ४६ सुत्केरी आमाहरुलाई पालिका उपाध्यक्ष दिलकुमारी पुनले कुखुराको भाले र बच्चाका लागि सरसफाइ सामग्री वितरण गर्नुभएको हो । वडा नम्बर ५ सुखौराका ६, वडा नम्बर ४ सल्यानका ४, वडा नम्बर ३ बाटाकाचौरका १६, वडा नम्बर २ हुग्दिशिरका १५ र वडा नम्बर १ धुल्लुबास्कोटका ५ जना सुत्केरी आमाहरुले भाले उपहार पाएका हुन् । ५ वटा वडामा फरक समय र दिन गरि जम्मा ३ दिनमा प्रत्येक वडाकै हेल्थपोष्टमा उपहार वितरण गरिएको स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
पालिकाले दिएका मापदण्ड पुरा गर्दै स्वास्थ्य संस्थामा पुगेर नियमित चेकअप गराउने गरेका सुत्केरीलाई प्रोत्साहन स्वरुप भाले उपहार दिइएको उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो । गर्भवती आमा र बच्चा दुवैको स्वास्थ्यलाई ध्यानमा राखेर पोसिलो झोला, उज्यालो बालबचत सुत्केरी प्रोत्साहन भत्ता वितरण गर्दै आइराखिएको छ । “गाउँपालिकाभित्र जन्मिने बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन र स्वास्थ्य संस्थामा उनीहरुको पहुँच पु¥याउन” पालिकाले आफ्नो नीति कार्यक्रममा यस्तो कार्यक्रमको समावेश गरेको उपाध्यक्ष पुनको भनाइ छ ।
उपहार सानो भएतापनि गर्भवती महिलालाई जोखिमबाट बचाउनका लागि सचेत हुन आग्रह गर्दै स्वास्थ्य संस्थामा नै सुत्केरी हुनुपर्छ भन्ने सोचको विकास गर्न कार्यक्रमले फाइदा पुग्ने बताइएको छ ।
पालिकाले चालु आ.व ०७७÷०७८ को नीति, कार्यक्रम तथा वार्षिक योजना अन्र्तगत सोही कार्यक्रमका लागि १ लाख ३० हजार बजेट विनियोजन गरेको थियो ।
आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो बनाउने र सुत्केरी जोखिमलाई न्यूनीकरण गर्ने कार्यक्रमको उद्देश्य रहेको गाउँपालिकाले बताएको छ । गत वर्ष सबै वडामा सत प्रतिशत सुत्केरी आमाहरु स्वास्थ्य संस्थामा नै पुगेको स्वास्थ्यकर्मी सरला पुनले बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ४ सल्यानकी रञ्जिता शर्माले आफूहरुलाई यस्ता कार्यक्रमले गर्दा स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्दो रहेछ भन्ने ज्ञान हासिल गराउनुका साथै स्वास्थ्य संस्थामा जानका लागि प्रोत्साहन गरेकोे भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।
त्यस्तै सुखौराकी मनकुमारी सेरपुर्जाले भने आफ्नो वडामा वर्थिङ सेन्टर नहुँदा कहिले सल्यान, कहिले गुल्मी शान्तिपूर र पाल्पा जानुपरेको गुनासो गर्नुभएको थियो । यसको समाधानको लागि भने पालिकाले कदम चालेको पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
गत वर्षबाट गाउँपालिकाले सुत्केरी महिलाहरुको लागि राहत हुने काम गर्र्दै आइराखेको छ ।
« बरेङमा संस्थागत सुत्केरी आमाहरुलाई कुखुराको भाले उपहार «
» बरेङ गाउँपालिकाले सामुदायिक वन साझेदारी कार्यक्रम सञ्चालनगर्ने »







