बरेङका मा.वि. तहका विद्यालयलाई वेवसाइट हस्तान्तरण,
१५ फागुन २०७७ । केशबराज क्षेत्री, हुग्दिशिर । बागलुङको बरेङ गाउँपालिकाले पालिकाभित्रका सात वटा माध्यमिक विद्यालयलाई वेवसाइट प्रयोग सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ ।
पालिकाभित्रका दुई आधारभूत विद्यालयमा समेत वेवसाइटको विस्तार गर्ने र वेवसाइट प्रयोगलाई थप प्रभावकारी बनाउने उद्देश्यले शनिबार पालिकाको आयोजनामा माध्यमिक तहका एक÷एक जना कम्प्युटर शिक्षकहरुलाई वेवसाइट हस्तान्तरण तथा सञ्चालन सम्बन्धी एक दिने प्रयोगात्मक तालिमको सञ्चालन गरेको हो ।
गाउँपालिका अन्तर्गतका सम्पूर्ण माध्यमिक तहमा इन्टरनेटको पँहुच पुगेकाले प्रविधिको प्रयोगद्धारा सूचना, समाचार तथा विद्यालयको हरेक गतिविधिलाई समष्टिगत गरि एकरुपताका साथ सम्प्रेषण तथा प्रविष्ट गर्नका लागि वेवसाइट निर्माण गरेर हस्तान्तरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।
वेवसाइटमा विद्यालयका गतिविधि, सूचना तथा समाचार, विद्यार्थीहरुको लागि पाठ्यक्रम तथा विविध जानकारी, ब्याकइन्ड ड्यासबोर्डमा कसरी अपडेट गर्ने तथा वेवसाइटमा कसरी प्रविष्ट हुने भन्ने बारेमा पालिकाका सूचना प्रविधि अधिकृत राजन कार्कीले प्रशिक्षण गर्नुभएको हो ।
तालिमको सञ्चालन शिक्षा प्राविधिक सहायक विष्णुप्रसाद न्यौपानेले गर्नुभएको थियो ।







