बरेङ गापा ४ थप्लुङमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना
२३ फागुन २०७७ । हरि कुमार केसी, सल्यान । बरेङ गाउँपालिका वडा नम्बर ४ को थप्लुङ मा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको छ ।
सल्यान स्वास्थ्य चौकी सम्म सेवा लिन जान असहज भएकाले आईतबार सल्यान कै थप्लुङमा स्वास्थ्य इकाईको स्थापना गरिएको हो । इकाईको बरेङ गाउँपालिका का अध्यक्ष कृष्ण प्रसाद शर्माले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको हाे ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष शर्माले स्वास्थ्य सेवाको सहज पहुँचको लागि स्वास्थ्य इकाईको स्थापना गरिएको बताउनु भयो । शर्माले बरेङ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलाे लगानी गरेको भन्दै अब कोही पनि नागरिकले स्वास्थ्य सेवा लिन आधा घण्टा भन्दा बढी हिड्नु पर्ने अवस्था नरहेको बताउनु भयो ।
सामुदायिक स्वास्थ्य इकाई स्थापना भए सँगै अब सामान्य स्वास्थ्य सेवाको लागि छिमेकी जिल्ला गुल्मीको शान्तिपुर जानु पर्ने अवस्थाको अन्त्य भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।
बरेङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लीलबहादुर खत्री को अध्यक्षतामा सम्पन्न कार्यक्रमको बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुन ले सञ्चालन गर्नुभएको थियो ।
यस अघि पालिकाले वडा नम्बर १ को लुग्रुङ् र गडेल, वडा नम्बर २ को बराहकोट र वडा नम्बर ३ को साग्दिमा पनि स्वास्थ्य इकाईको स्थापना गरिसकेको छ ।







