बरेङमा प्र.राे.का.कत्तिकाे प्रभावकारी, अध्ययन टाेलीद्धारा अनुगमन
८ चैत्र २०७७ । हरि केसी, बरेङ । बाग्लुङको बरेङ गाउँपालिका मा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएकाे छ । कार्यक्रम अन्तर्गत पालिका भित्रका विभिन्न वडामा प्रतिक्षालय निर्माण, सामुदायिक भवन का शौचालय निर्माण,चौपारी निर्माण,सिंचाई कुलो मर्मत, गोरेटो बाटो,मोटरबाटोमा ग्याबिन तथा कच्ची नाली खेल मैदान मर्मत, पोखरी मर्मत,पौवा निर्माण लगाएतका विभिन्न कामहरू गरिएको बरेङ गाउँपालिका का रोजगार प्रमुख केशवराज क्षेत्री ले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७७/७८ को पहिलो चरणमा पालिका भित्र एक सय जनाले रोजगार पाएका थिए । दोश्रो चरणमा यही चैत्र बाट २३२ जनाले रोजगार पाउने रोजगार प्रमुख क्षेत्रीले बताउनु भयो ।
यसै बीच शनिबार प्रधानमन्त्री रोजगार कार्यक्रम अध्ययन टोलीका सदस्य तथा चार्टर एकाउन्टेन्ट लिलाराज ढकाल, रोजगार प्रमुख केशवराज क्षेत्री, प्राविधिक कमल आचार्य,पत्रकार हरिकुमार केसी सहितको टोलीले पालिकाको वडा नम्बर ३,४ र ५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम का पहिलाे चरण अन्तर्गत सम्पन्न भएका योजनाहरुको अनुगमन गरेका छन् ।
अनुगमन मा बरेङ गाउँपालिका भित्र यो कार्यक्रम प्रभावकारी देखिएको अध्ययन टोलीका सदस्य ढकालले बताउनु भयो ।
अनुगमनका क्रममा वडा नम्बर ४ सल्यानका वडा अध्यक्ष लीलबहादुर खत्री र वडा नम्बर ५ सुखाैराका वडा अध्यक्ष अमर बहादुर सेरबुजा संग प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन मा देखिएका समस्या, समाधानका उपाय, यसको प्रभावकारिता लगायतको विषयमा छलफल गरिएको थियो ।
छलफल मा अध्ययन टोलीका सदस्य लिलाराज ढकाल लाई कार्यक्रम प्रभावकारी बनाउने सम्बन्धमा वडा अध्यक्षहरु ले विभिन्न सुझाब बताउनु भएको छ । प्राप्त समस्या तथा सुझाबलाइ सम्बन्धित ठाउँमा पुर्याउने ढकालले बताउनुभयाे ।
यस्तै शुक्रबार वडा नम्बर २ हुग्दिशिर मा पनि वडा कार्यालयसँग छलफल र योजनाको अनुगमन गरिएको थियो ।
कार्यक्रम अन्तर्गत रोजगार प्राप्त गर्नुभएका भक्त बहादुर खत्री ले कार्यक्रमले बेरोजगार तथा न्यून आए भएका परिवार लाई राहत पुगेको बताउनु भयो ।
कार्यक्रम बाट सीप सिक्ने मौका समेत प्राप्त भएको र यो कार्यक्रम दीर्घकालीन रूपमा सञ्चालन हुनु पर्ने बताउनुभयो ।







