एकै घरका दुईजनामा कोरोना भाइरस पुष्टि भएपछि हुग्दिशिरका चार टोल सिल गरियो
०२ जेष्ठ २०७८ । केशबराज क्षेत्री, बरेङ । कोभिड १९ संक्रमणको दोस्रो लहरको महामारीबाट नेपाल लगायत विश्व आक्रान्त बनिरहेको अवस्थामा बागलुङको बरेङ गाउँपालिकामा पनि संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको छ ।
कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण देखिएपछि आईतबार शंस्कापद ३ जनाको एन्टिजिन विधिबाट स्वाव परीक्षण गरिएकोमा पालिकको वडा नम्बर २ हुग्दिशिरका एकै घरपरिवारका ४० वर्षीय महिला र ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका दुवै जना पालिकाको अस्थायी कोभिड अस्पताल बरेङमा उपचाररत रहेको पालिकाले वक्तव्य मार्फत जानकारी गराएको छ ।
भाइरस संक्रमण पुष्टि देखिएको हुग्दिशिरको साविकको वडा नम्बर ५ वरपरको पोखराचौर, धुस काउले, हिराने र चौतारा टोललाई सिल गरिएको छ ।
सिल गरिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरु एक घरबाट अर्को घरमा नजाने, भेटघाट बन्द गर्ने, अन्य क्षेत्रका नागरिक सिल भएको ठाउँमा नजाने र उक्त क्षेत्रका नागरिकहरु पनि अन्य क्षेत्रमा नजानको लागि अनुरोध गरिएको छ । नियमको उल्लङ्घन गरेमा कानुनी कारवाही गरिने बताइएको छ ।
बरेङ पालिकामा हाल सम्म पिसिआर गरिएकाको संख्या ३५४, एन्टिजिन परीक्षण गरिएका १८ जना, संक्रमितको संख्या ४९ जना, संक्रमित मध्ये निको हुनेको संख्या ३८ जना, संक्रमित मध्ये मृत्यु हुनेको संख्या १ जना, हाल सक्रिय संक्रमितको संख्या १० जना, अस्पताल आइसोलेसनमा रहेका संक्रमितको संख्या ४ जना , होम आइसोलेसनमा रहेका संक्रमितको संख्या ६ जना र परीक्षण गरिएकाको रिपोर्ट आउन बाँकी ७५ जना रहेको पालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुनले बताउनुभयो ।
पालिकाले बिरामी परेमा वा अन्य अति आवश्यक काम परेमा ईलाका प्रहरी कार्यालय बरेङडाँडाको ९८५७६९००५५ नम्बरमा सम्पर्क गरि अनुमति लिएर मात्र ओहोरदोहोर गर्न वक्तव्यमा उल्लेख गरेको छ ।
कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण र जोखिम न्यूनिकरणमा सबै जुटौँ, स्वास्थ्य मापदण्डको पूर्ण पालना गरौँ त्यही नै मानवको दायित्व हुने छ ।
« गुल्मीको कालिगण्डकी मा कोरोना संक्रमण बाट एक जनाको मृत्यु «
» कालीगण्डकी गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि »







