बरेङमा १५ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३५ पुग्यो, धुल्लुबास्कोटको लिउँवा क्षेत्र सिल
४ जेष्ठ २०७८ । बरेङ,केशबराज क्षेत्री । बागलुङको बरेङ गाउँपालिकामा मंगलबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ पुगेकोे छ ।
कोभिड १९ संक्रमणको दोस्रो लहरको महामारीबाट आक्रान्त बनिरहेको अवस्थामा बरेङ गाउँपालिकामा दिनानुदिन टोल स्तरमा कोरोना भाइरस रोगको संक्रमण बढिरहेको छ ।
पालिकाको वडा नम्बर १ धुल्लुबास्कोट स्वास्थ्यचौकीमा आज शंस्कापद ४ जनाको एन्टिजिन विधिबाट परिक्षण गरिएकोमा सोही वडाको लिउँवा निवासी एकै परिवारका दुई ६८ र ६७ वर्षीय महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने वैशाख ३१ र जेठ १ गते ६३ जनाको स्वाव संकलन गरेर जिल्लास्थित धौलागिरी अस्पतालमा पठाइएकोमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
जस मध्ये पालिकाको वडा नम्बर २ हुग्दिशिरका २२, २२ र ३२,वर्षका पुरुष , ४३, र २१ वर्षका महिला गरि ५ जनामा संक्रमण देखिएको छ । त्यस्तै वडा नम्बर ३ बाटाकाचौरका ३५, २१, १९ र ४५ वर्षका पुरुष १७, ३०, ४० र ५० वर्षका महिला गरि ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नागरिकहरुले शंस्कापद क्षेत्र सिल गरि चेकजाँचको दायरा बढाउन भनेकाले यस अगाडि सिल गरिएका क्षेत्र कायम राखि थप वडा नम्बर १ को लिउँवा क्षेत्रलाई सिल गरिएको पालिकाले बक्तव्य मार्फत जानकारी गराएको छ ।
पालिकाको धुल्लुबास्कोट, हुग्दिशिर र बाटाकाचौरका गरि मंगलबार १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
सिल गरिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरु एक घरबाट अर्को घरमा नजाने, भेटघाट बन्द गर्ने, व्यापार, व्यवसाय, बैंक तथा वित्तिय संस्थाको कारोबार पूर्ण रुपमा बन्द गर्ने, बिरामी परेमा वा अन्य अति आवश्यक काम परेमा ईलाका प्रहरी कार्यालय बरेङडाँडाको फोन नं. ९८५७६९००५५ मा सम्पर्क गरि अनुमति लिएर मात्र ओहोरदोहोर गर्नका लागि गाउँपालिकाले अनुरोध गरेको छ ।
पालिकामा हालसम्म पिसि आर गरिएकाको संख्या ४४०, एन्टिजिन गरिएको संख्या २५, हालसम्म संक्रमितको संख्या ७४, संक्रमित मध्ये निको हुनेको संख्या ३८, मृत्यु हुनेको संख्या १, हाल सम्म सक्रिय संक्रमितको संख्या ३५, बरेङ अस्पताल आईसोलेसनमा रहेका संक्रमितको संख्या ४, बुटवल अस्पताल आईसोलेसनमा रहेको संख्या १ र होम आईसोलेसनमा रहेकाको संख्या ३१ रहेको पालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुनले बताउनुभयो ।
« कालीगण्डकी गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि «
» कोभिड नियन्त्रणका लागि पालिकाद्धारा सहयोगको अपिल, स्पेन एकता समाजका अध्यक्षद्धारा ५० हजार सहयोग »







