कोभिड नियन्त्रणका लागि पालिकाद्धारा सहयोगको अपिल, स्पेन एकता समाजका अध्यक्षद्धारा ५० हजार सहयोग
५ जेष्ठ २०७८ । केशबराज क्षेत्री,बरेङ । बरेङ गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन गर्नको लागि आम नागरिकलाई सहयोगको लागि अपिल गरेको छ ।
कोभिड १९ को पहिलो लहरलाई व्यवस्थापन गर्नमा जसरी गाउँपालिकामा कार्यरत जनप्रतिनिधिहरु, कर्मचारी,शिक्षक, अभिभावक, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार तथा सम्पूर्ण जनसमुदायले गरेको आर्थिक, भौतिक तथा जिन्सी सहयोगले सहजै व्यवस्थापन भएको सदैव स्मरणीय रहेको भन्दै पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले हाल फैलिइरहेको कोभिड १९ को दोस्रो लहरलाई नियन्त्रण तथा व्यवस्थापन गर्न पालिकाको एकल प्रयासले मात्र सम्भव नरहेकोले आम नागरिकलाई सहयोगको लागि अपिल गरेको बताउनुभयो ।
जहाँबाट भए पनि नगद, स्वास्थ्य सामग्री, राहत सामग्री (मास्क, सेनिटाइजर, पि.पि.इ तथा दाल, चामल नुन, तेल जस्ता खाद्य सामग्रीहरु) जे सकिन्छ त्यही सहयोग गर्नका लागि अनुरोध गर्दै सम्पर्क व्यक्तिकोे रुपमा पालिकाका प्रशासन अधिकृतलाई कोभिड समन्वय अधिकृतको जिम्मा दिईएको पालिकाले बताएको छ ।
पालिकाले नगद सहयोग गर्न चाहनेका लागि प्रकोप व्यवस्थापन कोष बंैक खाता १४४०११२७१७५०००५१ सञ्चलानमा समेत ल्याएको छ ।
त्यस्तै कोभिड नियन्त्रण तथा व्यवस्थापनका निमित्त बरेङ गाउँपालिकालाई स्पेन नेपाली एकताका अध्यक्ष दुर्गा शर्माका परिवारले स्वर्गीय आमा टिका कुमारी शर्माको सम्झनामा नगद ५० हजार सहयोग गर्नुभएको छ । स्वर्गीय शर्माका २ छोरी, ४ छोरा, १० नाती, ६ नातिनी, ४ पनाति, ३ पनातिनी रहेका छन् ।
बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरको भेडिखोर निवासी शर्माले स्वर्गीय आमा टिका कुमारी शर्माको १३ औँ पुण्य तिथि बितीसकै पनि अझै मृत्यु स्वीकार गर्न गाह्रो भैरहेको बताउँदै विभिन्न माध्यमबाट सहानुभूति प्रकट गर्ने सबै प्रति कृतज्ञ रहेको समेत बताउनुभएको छ ।
कोरोनाको दोस्रो लहर फैलिएसँगै देशभर ज्यान गुमाउनेको संख्या पनि दिनानुदिन बढिरहेको अवस्था छ । तसर्थ कोरोनाको महामारीको परिस्थितिमा कोरोना संक्रमित भई उपचारको निम्ति छटपटिरहनुभएका आम नागरिकमा सानो भए पनि सहयोग होस् भन्ने उद्देश्यले आफ्नो स्वर्गीय आमाको सम्झनामा सङक्रमितहरुका लागि स्वास्थ्य सामग्री खरिद गरि सहयोग गरिदिन परिवारका सदस्य छोरा दुर्गा शर्मा, बुहारी प्रगति शर्मा, नातिनीहरु मिसन शर्मा, प्राप्ती शर्मा तथा स्पेन नेपाली एकता समाज मार्फत बरेङ गाउँपालिकालाइ नगद सहयोग गरेको स्पेन एकता समाजका अध्यक्ष दुर्गा शर्माले बताउनुभयो ।
» कोरोना संक्रमणका कारण कालिगण्डकी गाउँपालिकामा संक्रमणको स्थिति भयाबह बन्दै »







