कोभिड नियन्त्रणका लागि हुग्दिशिरका युवा व्यवसायी गिरी द्धारा १ लाख ८ सय सहयोग
११ जेठ २०७८ । केशबराज क्षेत्री,बरेङ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरको घट्ट निवासी राजन गिरी (महेन्द्र) ले बरेङ गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा एक लाख आठ सय नगद सहयोग गर्नुभएको छ । हाल जापानको होकाईदोमा रहनुभएका युवा व्यवसायी गिरीले बरेङ गाउँपालिकामा कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि आर्थिक सहयोग गरेको बताउनुभयो ।
कोरोनाको दोस्रो लहर फैलिएसँगै देशभर ज्यान गुमाउने तथा संक्रमित हुनेको संख्या दिनानुदिन बढिरहेको अवस्था छ । तसर्थ कोरोना महामारीको परिस्थितिमा संक्रमित रहेका र संक्रमित हुन नदिनका लागि बरेङबासी आम नागरिकलाई सानो भए पनि सहयोग होस् भन्ने उद्देश्यले जापानमा रहेतापनि आफ्नो गाउँठाउँ प्रति चिन्ता र चासो प्रकट गर्दै सहयोग गरेको पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
बरेङ गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन गर्नको लागि आम नागरिकलाई सहयोगको लागि अपिल गरे सँगै सहयोगदाताहरु सहयोग गर्नका निमित्त लागि परिरहेको बताइएको छ ।
जहाँबाट भए पनि नगद, स्वास्थ्य सामग्री, राहत सामग्री (मास्क, सेनिटाइजर, पि.पि.इ तथा दाल, चामल नुन, तेल जस्ता खाद्य सामग्रीहरु) जे सकिन्छ त्यही सहयोग गर्नका लागि अनुरोध गर्दै पालिकाले सम्पर्क व्यक्तिकोे रुपमा प्रशासन अधिकृत रामचन्द्र शर्मालाई कोभिड समन्वय अधिकृतको जिम्मेवारी दिएका छ ।
बरेङ गाउँपालिकाले नगद सहयोग गर्न चाहनेका लागि प्रकोप व्यवस्थापन कोष भनेर प्रभु बंैकको खाता १४४०११२७१७५०००५१ सञ्चलान समेत ल्याएको छ ।
गत ४ गते स्पेनमा रहनुभएका हुग्दिरिशका दुर्गा पौडेलले ५० हजार सहयोग गर्नुभएको थियो । यो सँगै हालसम्म कोभिड नियन्त्रणका लागि बरेङ गाउँपालिकालाई एक लाख पचास हजार आठ सय नगद प्राप्त भएको बताइएको छ ।
« रोजगार सम्बन्धी देखिएका समस्या हल गर्न जिल्ला रोजगार समन्वय मञ्च गठन «
» बरेङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, ५० पुग्यो सक्रिय संक्रमितको संख्या »







