बरेङमा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत रानालाई स्वागत
०७८ साउन १० । हरि कुमार केसी, हुग्दिशिर । बरेङ गाउँपालिकाले गाउँपालिकामा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर रानालाई स्वागत गरेको छ ।
पुर्व प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएपछि राना नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा बरेङ गाउँपालिकामा आउनुभएको हो ।
रानालाई आईतबार बरेङ गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले नेपाली ढाका टोपी र पुष्प गुच्छाद्वारा सम्मान गर्दै स्वागत गर्नुभएको हो । त्यस्तै वडा नम्बर १ का वडा अध्यक्ष नरसिंह पुन, वडा नम्बर २ का वडा अध्यक्ष गुप्त प्रशाद काला थापा, सहित पालिकाका कर्मचारीहरुले रातो टिका र पुष्पद्वारा स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत रानाले गाउँपालिकामा को व्यक्ति आउँछ र जान्छ भन्दा पनि विधि र पद्धति महत्वपूर्ण रहेको बताउँदै एक आपसमा जनप्रतिनिधि र कर्मचारीको सहकार्य रहेमा गाउँपालिकाको लागि महत्वपूर्ण योगदान दिन सकिने बताउनुभयो । उहाँले आफ्नो तर्फबाट सक्दो काम गरि पालिकाको विकासमा लागि पर्ने प्रण समेत व्यक्त गर्नुभएको छ ।
यस्तै पालिका उपाध्यक्ष दिलकुमारी पुनले बरेङ गाउँपालिकाको समग्र विकासको लागि तथा यहाँको जनताको आकांक्षा पूरा गर्नको लागि नयाँ प्रमुख प्रशासकिय अधिकृत रानाको महतवपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । साथै जनप्रतिनिधिको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रानाले आजै आफ्नो कार्यभार सम्हाल्नुभएको छ । कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनको स्वागत र शिक्षा शाखा प्रमुख सुर्य प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो







