बरेङ गा.पा.मा मनाइयो संविधान दिवस
०३ असोज ०७८ । केशब क्षेत्री, हुग्दिशिर । नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको “संविधान दिवस” को अवसरमा बागलुङको बरेङ गाउँपालिकाले दीप प्रज्वलन गरेर संविधान दिवस मनाएको छ ।
पालिकाका कार्यरत कर्मचारीहरुले संविधान दिवसको दिन आज (आइतबार ) पालिकाको भवन परिसरमा दीप प्रज्वलन गरेका हुन् ।
त्यस्तै पालिकाको वडा नम्बर २ हुग्दिशिरमा राष्ट्रिय धुन सङ्गै दीप प्रज्वलन गर्दै कार्यालयमा राष्ट्रिय झण्डा सजाइएको पालिकाका सुचना अधिकृत राजन कार्कीले बताउनुभयो ।
२,३ र ४ गते सम्म हर्षोल्लासका साथ दिवस मनाउनका लागि गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको पत्रमार्फत आदेश गरिएको थियो । सोहीअनुसार बरेङका विभिन्न सरकारी कार्यालयमा दीप प्रज्वलन गरी संविधान दिवस मनाइएको छ ।
देशले इतिहासमै जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले " नेपालको संविधान २०७२" लाई हस्ताक्षर गरि अनुमोदन गरेसङ्गै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकाङ्क्षा पूरा भएको मानिन्छ ।







