बरेङ गा.पा.सर्वदलीय बैठकको निर्णय, हेर्नुहोस् !
२८ वैशाख ०७९ । बरेङ । हाल स्थानीय तह चुनाव नजिकिए सङ्गै निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधि बिचको बैठक तथा छलफल चलिरहेको छ ।
यस सङ्गै बाग्लुङको बरेङ गाउँपालिकामा राजनैतिक दल, सुरक्षा निकाय र निर्वाचन अधिकृतको कार्यालयबिच विभिन्न निर्णय गरी बुधबार सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा निर्वाचन आचारसंहिता सम्बन्धि भएका नीति र विभिन्न राजनीतिक दल,स्थानीय जनता,कर्मचारी सबैले पालना गर्नुपर्ने नियमको बारेमा सहायक निर्वाचन अधिकृत जितबहादुर रानाले जानकारी गराउनुभएको हो ।
मतदानको दिन मतदान गर्न नसक्ने मतदाताको मत एकाघरकाले बाहेक अरुले राख्न नपाइने, मौन अवधीको पुर्ण रुपमा पालना गर्ने, मतगणना प्रतिनिधि यथाशीघ्र निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुने, निर्वाचनको दिन प्रतिकुल मौसमले पार्न सक्ने संभावित असरको व्यवस्था तथा आवश्यक तयारीको लागि सबै राजनीतिक दलले भुमिका निभाउनु पर्ने, सवारी पास मापदण्डले तोके बमोजिम निर्वाचन कार्यालयबाट बुधबार नै गरिसक्नुपर्ने, अध्यक्ष र उपाध्यक्षका लागि २,३ र ४ पाङ्ग्रे मध्य एक/एक वटा गाडी प्रयोग गर्न पाउने, वडाअध्यक्ष र सदस्यका लागि २ पाङ्ग्रे १-१ वटा गाडी प्रयोग गर्न पाउने, अशक्त तथा अपाङ्गका लागि छुटै पासको व्यवस्था रहेकोले इच्छुक त्यस्ता व्यक्तिहरुले निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्नुपर्ने, मतदान केन्द्रमा खटिएमा सबै कर्मचारी लगायत मतदान स्थल सुरक्षा व्यवस्थाका लागि उम्मेदवार तथा राजनीतिक दलले सहयोग गर्ने, मतदान स्थलको ३०० मिटर वरिपरि कुनै पनि कार्यक्रम तथा भोजभतेर गर्न नपाउने निर्णय भएको निर्वाचन अधिकृत मनिराम ज्ञावालिले बताउनुभयो ।
पालिकाका पाँच वटा मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण भइरहेको साथै २८ र २९ गते नयाँ फोटो खिचेका मतदाताको मात्र परिचयपत्र आएको उनिहरुको मात्र दिइने बताइएको छ । साथै परिचयपत्र हराएका, मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभएका मतदाताले भने नागरिकता लिएर आफ्नो मतको प्रयोग गर्न पाइने निर्वाचन कार्यलयले जानकारी गराएको छ ।







