उत्कृष्ट काम गर्ने समूहलाई प्रोत्साहन गरिने:- उपाध्यक्ष पुन
११ पौष ०७९ । दिपेन्द्र परियार,बरेङ । बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरमा सोमबार प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यून आर्थिक अवस्था भएका व्यक्तिहरुलाई एक सय दिनको रोजगार दिने श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयको प्रावधान अनुसार रोजगार सेवा केन्द्रले गर्नुपर्ने विभिन्न आयोजनाका काममा प्राथमिकताको आधारमा रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकृत बेरोजगार व्यक्तिहरुले काम गर्ने,१८ वर्ष माथी देखि ५९ वर्ष सम्मका बेरोजगार व्यक्ती हुनुपर्ने अभिमुखीकरण कार्यक्रममा बताइएको थियो ।
सुचिकृत भएका बेरोजगारले आफ्नो गाउँको विकासका आयोजनामा देखिने गरी काम गर्ने,सुचिकृत व्यक्ति मात्र काममा जाने, बचत गर्ने बानीको विकास गर्ने,धूम्रपान मध्यपान नगर्ने र उत्कृष्ट काम गर्ने समूहलााई प्रोत्साहन तथा पुरस्कारको व्यवस्था गरिने गाउँपालिकाका उपाध्यक्ष दिलिप पुनले बताउनुभयो ।
करिब ५५ जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा श्रमिकले काम गर्नुपर्ने विभिन्न कानुनी कुरा,नीति नियम,प्राविधिक स्टिमेट तथा रोजगारी सम्बन्धि विविध विषयमा गाउँपालिकाका इन्जिनियर कृष्ण बहादुर थापाले बताउनुभयो । थापाले "काममा ठग्ने र स्टिमेट अनुसारको काम नगर्ने कुनै पनि समूहको ज्याला काटिने वा थप बढी दिन काम गर्नुपर्ने नीति नियम रहेको समेत जानकारी गराउनुभयो ।
श्रमिकले काम गर्ने क्रममा इमान्दारी पुर्वक आफू ले सक्ने गरी काम गर्ने,समयको पालना गर्ने र समयमा काम सक्नुपर्ने,काममा बालबालिकालाई प्रयोग गर्न नपाइने, संयमित भै कसैलाई हिंसा नगरी काम गर्ने,हाल समान ज्यालाको एक मात्र कार्यक्रम भएकाले महिला पुरुष मिलेर काम गर्ने जस्ता विषयमा बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले बताउनुभयो ।
सोही वडामा ४६ जना श्रमिकले , दैनिक ६ सय ४० रुपैयाँ ज्यालादर पाउने गरी काम गर्ने रोजगार सेवा केन्द्रले जनाएको छ
उपस्थित सहभागी सङ्ग अन्तरक्रीया गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सङ्ग सम्बन्धित विषयमा उठेका प्रश्नको समेत समाधान गरिएको थियो ।
कार्यक्रम वडा अध्यक्ष हिराबहादुर घर्तिको अध्यक्षता,रोजगार सहायक सुक्मित घर्ती मगरको स्वागत मन्तव्य र रोजगार संयोजक केशवराज क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।
« रोजगार व्यवस्थापन सूचना प्रणालीमा सुचिकृत बेरोजगारलाई अभिमुखीकरण «
» लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण ( जिईएसआई ) सम्बन्धी ३ दिने तालिम सुरु »







