बरेङ गाउपालिकाका ८५.३ प्रतिशत नागरिकले हात्तीपाइले रोग विरुद्धको आम औसधि सेवन गरे
विद्या मगर
२०७९ फागुन २५। हात्तीपाइले रोग विरुद्धको आम औसधि सेवन कार्यक्रम बरेङ गाउँपालिकामा पनि जारी रहेको छ।
अभियान अन्तर्गत बुधबार सम्ममा बरेङ गाउपालिकाका ८५.३ प्रतिशत नागरिकले हात्तीपाइले रोग विरुद्धको आम औसधि सेवन गरेका बरेङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम पुनले जानकारी दिनुभयो ।
उँहाका अनुसार बुधबार सम्मको तथ्याङ्कमा वडा नम्बर १ धुल्लुबाँस्कोटमा ८५.०३ प्रतिशत, वडा नम्बर २ हुग्दिशिरमा ८६.१५ प्रतिशत, वडा नम्बर ३ बाटाकाचौरमा ७९.२७ प्रतिशत, वडा नम्बर ४ सल्यानमा १०६.२६ प्रतिशत र वडा नम्बर ५ सुखौरामा ७९.१७ प्रतिशत गरि लक्षित जनसंख्याको ८५.३ प्रतिशत अर्थात् ९ हजार ७ सय ११ जनाले हात्तीपाइले रोग विरुद्धको आम औसधि सेवन गरेका हुन् ।
यस अघि फागुन २५ गतेसम्मका लागी अभियान सञ्चालन गर्ने भनिएपनि सरकारले फागुन मसान्तसम्म म्याद थपेको शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।
औषधि खुवाउने क्रम पालिका भर अझै जारी छ। आफूलाई पायक पर्ने स्थानमा गएर औषधि सेवन गर्न बरेङ गाउपालिका स्वास्थ्य शाखाले आग्रह गरेको छ ।
दुई वर्ष उमेर पूरा गरेका सबैले यो औषधि खानुपर्छ । तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीहरुले भने हात्तीपाइले रोग विरुद्धको औषधि खान नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
« प्रथम पालिका अध्यक्ष कप–२०७९ , पुरुष भलिबल तर्फ कालीगण्डकी गाउँपालिका स्याङ्जा विजेता «







