बरेङका पशु चौपायामा पनि लम्पी स्किन रोगको सङ्क्रमण देखियो,,,,सर्तकता अपनाउन शाखा प्रमुखको सुझाव
भुमा मगर
०९ जेठ २०८०।बागलुङ बरेङका पशु चौपायामा पनि लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ ।
बरेङ गाउँपालिकाका ५ वटै वडाका पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखा परेको हो ।
अहिले पालिकाका करिव ३० वटा गाईगोरुहरुमा संक्रमण देखिएको छ । अहिलेसम्म संक्रमणका कारण एउटा गाई र एउटा गोरु मरेको पालिकाको पशुसेवा शाखाको तथ्याङ्कमा छ । भैसीहरुमा भने यो संक्रमण देखिएको छैन ।
रोगग्रस्त क्षेत्रमा नियमित अनुगमन,उपचार लगायतका कार्य भइरहेको बरेङ गाउँपालिका पशु सेवा शाखाका प्रमुख नारायण पौडेलले बताउनुभयो ।
साथै उँहाले लम्पी स्किन रोगको सङ्क्रमण देखिएका व्यावसायिक फर्महरुमा जैविक सुरक्षा अपनाउन,रोग लागेका पशुचौपायालाई चरनमा नलैजान तथा क्वरेन्टिनमा राखेर उपचार गर्न र रोग संग मिल्दो जुल्दो लक्षण देखा परेमा गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न पालिकावासी नागरिकहरुमा आग्रह गर्नुभएको छ ।
शाखा प्रमुख पौडेलले पालिकाबाट अन्य ठाउँहरुमा पशु आयात तथा निर्यात नर्गन समेत सुझाव दिनुभयो ।
यसवर्ष गएको पुसदेखि नै पशुचौपायामा फाट्टफुट्ट रोगको सङ्क्रमण देखिन थालेको थियो । त्यसबेला मकवानपुर, चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा देखिएको लम्पी स्किन रोग अहिले देशभर फैलिएको छ ।
लम्पी स्किन रोग लागेका गाई÷भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने गर्छ ।
भारत तथा चीनमा सन् २०१९ मा देखिएको यो रोग नेपालमा मोरङ हुँदै भित्रिएको थियो । २०७७ साल असारमा नेपालमा लम्पी स्किन रोग भित्रिएको थियो ।
» बरेङ गाउँपालिकाको १ वर्षे कार्य प्रगति विवरण जस्ताको त्यस्तै »