बरेँङका अलैचि किसानले यस सिजनमा झण्डै २२ लाख रकम गाँउ भित्राउन सफल
दिपेन्द्र परियार बरेङ २४ कार्तिक २०८०।। नमुना अलैचीं उत्पादक कृषक समुह बरेँङका अलैचि किसानले यस सिजनमा करिब १६ क्विन्टलसम्म अलैंची निर्यात गर्दै झण्डै २२ लाख रकम गाँउ भित्राउन सफल भएका छन । यहाँका किसानले परम्परागत खेती प्रणालीलाई सुधार गरी व्यवसायिक अलैंची खेती गर्दै यो सिजनमा राम्रो आम्दानी भित्राउन सफल भएका हुन ।
बागलुङको बरेङ गाँउपालिका २ हुग्दिसिर ठुलो दलेङ स्थित नमुना अलैचीं उत्पादक कृषक समुहका किसानले बर्षमा ३० क्विन्टल सम्म उत्पादन गर्ने गरेका भएपनि खडेरी र रोग किराका कारण यस बर्ष १६ क्वीन्टल मात्रै उत्पादन गर्न सफल भएको बताउदै यो सिजनमा अलैचिको गुणस्तर हेरेर के.जी.को ८ सय देखि १५ सय सम्म परेको अलैचि कृषक तथा शिक्षक तुलसी प्रसाद शर्माले बताउनु भयो ।
यसबर्ष कम मात्रामा अलैचि उत्पादन भएतापनी बजार मुल्य राम्रो पाएकोभन्दै आफुहरु उत्साहित भएको कृषक समुहकी सचिव ज्ञानु पौडेलले बताउनु भयो ।
,पाखा पखेरामा पनि खेती गर्न सकिने , अन्य बालि लाई जस्तो धेरै समय पनि दिन नपर्ने भएपछि खेर गैरहेको समयलाई सदुपयोग गर्दै समुहमा आबद्ध महिलाहरु समेत अलैचिखेती बाट स्वरोजगार बनेको सचिव पौडेलको भनाई छ ।

वडा नं. २ हुग्दीशीरमा अलैंची खेतीको पकेट घोषणा गरिएको छ । ‘बाँझो जमिन र खेतीयोग्य जमिनमा समेत अलैंचीको व्यवसायिक उत्पादन थालेका छौं,’ नमुना अलैचीं उत्पादक कृषक समुहका अध्यक्ष विमल शर्माले भने, ‘अहिले घरबाटै अलैंचीको गुणस्तर हेरेर प्रति केजि ८ सय देखि १५ सय सम्म बिक्री भयो, उत्पादन पनि सन्तोषजनक छ ।’ हाल ३ सय रोपनी क्षेत्रफलमा अलैची खेती गरिएको उहाँको भनाई रहेको छ।
सुक्खाको कारणले अलैँचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने कृषकहरुको भनाइ छ । यो रोगका कारण बरेङमा पछिल्लो केही वर्षयता उत्पादनमा कमी आउन थालेको उनीहरु बताउँछन् । अलैचि खेतीका लागी बरेङको वडा न २ मा केन्द्र, प्रदेश र स्थानिय सरकार मार्फत बिभिन्न सहयोग समेत हुदै आईरहेको अध्यक्ष विमल शर्माको भनाई रहेको छ ।
अलैचि खेती सम्बन्धी आफुहरुलाई आधुनिक प्राबिधिक तालिमको ब्यबस्था गरिदिन सके उत्पादन अझै बढेर जाने अलैचि कृषकहरुको भनाई छ ।। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङमा एक सय हेक्टर जमिनमा खेती हुने गरेको छ ।
« विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा काम गर्नका लागि पालिकाद्वारा कम्प्युटर वितरण «







