बरेङमा वैदेशिक रोजगार सम्बन्धी सचेतनात्मक अन्तरक्रिया कार्यक्रम
२०८१ जेष्ठ ०७ गते । हुग्दिशिर । रोजगार सूचना केन्द्र पोखराको आयोजना, रोजगार सेवा केन्द्र बरेङको समन्वयमा बरेङ गाउँपालिकाको सभाहलमा सोमबार वैदेशिक रोजगार सम्बन्धी सचेतनात्मक अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले पालिकाका जनप्रतिनिधि, कर्मचारी, वैदेशिक रोजगारीबाट फर्केका, वैदेशिक रोजगारमा जान लागेका र वैदेशिक रोजगारबाट प्रभावित भएका करिब ४० जना व्यक्तिहरूको सहभागितामा सचेतनात्मक अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेश कार्यक्रम व्यवस्थापक, गण्डकी प्रदेशका उमा शर्माले वैदेशिक रोजगारमा जानुपूर्व सिप सिकेर श्रम स्वीकृति गरेर मात्र जानुपर्ने, इजाजत प्राप्त मेनपावरबाट जाने, प्रमाणहरू सुरक्षित राख्नुपर्ने जस्ता विषयको जानकारी गराउँदै वैदेशिक रोजगारमा गएर मृत्यु भएको अवस्थामा परिवारका बालबालिकाले १२ कक्षासम्म छात्रवृत्ति पाउने, बीमा रकम र बोर्डले दिने रकमसहित २१ लाख पाउने, शव वाहन वा गाडीका लागि निस्शुल्क सेवा हुने त्यस्तै वैदेशिक रोजगारमा भएका व्यक्तिको परिवारको कुनै पनि सदस्यलाई मृगौला, मुटु, क्यान्सर, अल्जाइमर, पार्किन्सस जस्ता रोगहरू लागेमा रोजगार सेवा केन्द्रबाट सहजीकरण हुने समेत बताउनुभएको थियो । शर्माले उक्त रोग लागेमा स्वास्थ्य उपचारका लागि वैदेशिक रोजगार वोर्डले ५० हजारसम्म आर्थिक सहायता प्रदान गर्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा वैदेशिक रोजगार वोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारको क्रममा कामदार अंगभंग भएमा समेत उपचार खर्च पाइने हुनाले समयमा सम्बन्धित निकाय रोजगार सेवा केन्द्र, सुरक्षित आप्रवासन९सामी०, वैदेशिक रोजगार वोर्डको सचिवालयमा जानकारी गराउनुपर्ने बताउनुभयो ।
अन्तर्क्रिरया कार्यक्रम पश्चात् गाउँपालिकाका उपाध्यक्ष दिलिपकुमार पुन र वडा नम्बर ५ सुखौराका वडाध्यक्ष अमर सेरबुजाले मन्तब्य व्यक्त गर्नुभएको थियो । त्यस्तै अन्य सहभागीले गरेका प्रश्नको जिज्ञासामा आयोजकले स्पष्ट पारेको थियो ।
सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत अञ्जना शर्मा ढकालको सञ्चालन, बरेङ गाउँपालिकाका प्रशासकीय अधिकृत जित बहादुर रानाको स्वागत मन्तव्य र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश कार्यक्रम व्यवस्थापक, गण्डकी प्रदेशका उमा शर्मा, वैदेशिक रोजगार वोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मी, रोजगार सूचना केन्द्र पोखराका अधिकृत दामोदर बरालले प्रस्तुतीकरण गरेका थिए ।
« बरेङमा विषादिरहित पोषण प्रवद्धन, अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न «
» सर्बोदय माध्यमिक बिद्यालयमा शैक्षिक गुणस्तर प्राप्तिका लागी अतिरिक्त कक्षा सञ्चालन »