बरेङ “घरमा प्रसूति शून्य गाउँपालिका घोषणा “
२०८१ असार १२ । बरेङ ।बरेङ गाउँपालिका बागलुङले बुधबार एक कार्यक्रमकाबिच “घरमा प्रसूति शून्य गाउँपालिका घोषणा“ गरेको छ ।
आमा र बच्चाको स्वास्थ्य जटिलतालाई कम गर्न र घरमा सुत्केरी हुने प्रथालाई रोक्ने उद्देश्यले स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८०–०८१ को घरमा प्रसूति शून्य गर्ने कार्यक्रम सफल भएको छ ।
पालिकाभित्रका सबै वडाका गर्भवती महिलालाई स्वास्थ्यकर्मीद्वारा मासिक घर घरमै पुगी चेकजाँच गरी आफ्नै वडाभित्रका स्वास्थ्य सस्थाको वर्थिङ सेन्टरमा सुत्केरी बनाउने र सम्भव नहुनेलाई विभिन्न स्वास्थ्य अस्पतालामा नै रिफर गरेर भएपनि सस्थागत सुत्केरी गराउने काम गरेर घरमा सुत्केरी हुने प्रथालाई शून्य गरेकाले पालिकाले “घरमा प्रसूति शून्य गाउँपालिका घोषणा“ गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो ।
चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका १३२ महिला सुत्केरी भएका छन् । जसमध्ये पालिका भित्रका आफ्नै वर्थिङ सेन्टरमा ६९ जना सुत्केरी भए भने रिफरमार्फत ६३ जना सुत्केरी भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताउनुभयो । रिफर गरिएका मध्ये लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा २९ जना, युनाइटेड मिसन अस्पताल पाल्पामा ५ जना, लुम्बिनी मेडिकल कलेट रुपन्देहीमा ५ जना, धौलागिरी अस्पताल बागलुङमा ११ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा ३ जना, गण्डकी मेडिकल कलेज पोखरामा ५ जना र शान्तिपुर स्वास्थ्य चौकीमा ५ जना सुत्केरी भएको तथ्याङ्क स्वास्थ्य शाखाले दिएको छ ।
आगामी आर्थिक वर्षदेखि बरेङ गाउँपालिकालाई घरमा प्रसूति शू्न्य कार्यक्रमलाई निरन्तरता दिन थप चुनौती थपिएको छ । तर स्वास्थ्य शाखाले भने चुनौतीको सामना गर्दै उक्त कार्य निरन्तर सफल पार्ने बताएको छ ।
« बरेङका किशोरीहरुलाई आत्मरक्षा संबन्धि तालिम प्रदान «
» बरेङका ७ माध्यमिक बिद्यालयको नतिजा भृकुटी प्रथम, सल्यान सुखौरा निल »