बरेङ गापाद्वारा बजार अनुगमन, उपभोक्ता नठग्न व्यवसायीलाई अनुरोध
२१ असोज २०८१ । बरेङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकास्थित बरेङ बजारमा बजार अनुगमन गरिएको छ ।
विजया दशमी, तिहार र छठपर्व नजिकिएसङ्गै सोमबार बरेङ गाउँपालिका जनप्रतिनिधि, कर्मचारी, पत्रकार र प्रहरीहरूको समूहले बरेङ बजारका खाद्य, किराना पसल, होटल, फ्रेसहाउस लगायत पसलहरुको अनुगमन गरेको हो ।
चाडपर्व नजिकिएको र पसहरुद्वारा उपभोक्ता ठगिने कुरालाई ध्यानमा राखी ४ समूहमा विभाजन गरी बजारका पसलहरुमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पसलमा म्याद गुज्रेका बिस्कुट, चाउचाउ, जिरा, भुजा भेटिएको, दर्ता नगरी व्यवसाय सञ्चालन गरेका, सरसफाइ नभएका होटल, साइनबोर्ड र मुल्यसुची नराखेका, किराना पसल दर्ता गरी फलफुल वा अन्य वस्तु वा सामान विक्री गरेको,दर्ता नगरी डिजेल पेट्रोल विक्री गरेको पाइएको र उक्त व्यवसायीलाई सचेत गराइ प्रक्रिया पुर्याएर व्यवसाय गर्न साथै म्याद नाघेका वस्तुहरु डिस्पोज गर्न लगाइएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग विकले बताउनुभयो ।
अनुगमनमा बरेङ गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष नरसेङ पुन, वडा नं। २ का वडा अध्यक्ष हिरा बहादुर घर्ति, प्रमुख प्रशासकीय अधिकृत खड्ग वि।क, गाउँपालिका शाखा प्रमुख लगायत कर्मचारीहरु, पत्रकार, ईलाका प्रहरी कार्यालय ईन्चार्ज प्रहरी निरिक्षक चन्द्र प्रसाद भण्डारी सहित सुरक्षाकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रत्येक अनुगमन समूहले व्यवसायीलाई उपभोक्ता नठग्न अनुरोध गरेको छ । साथै आम उपभोक्ताले म्याद हेरेर सामान किन्न गाउँपालिकाले अनुरोध गरेको छ ।
« चौतरा आमासमूहको अगुवाइमा सरसफाइ «
» बरेङमा सामाजिक सुरक्षा भत्ता बुझ्न आएकी एक जना बृद्धको निधन »